
खोटाङ, ७ माघ । बाम तथा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवारी दिनुभएका डा. रोकाले कृषकहरुको आवाज बनेर आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।
“म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन । अहिले पनि म किसान नै हुँ”, उम्मेदवारी दर्तापछि पत्रकारहरुसँगै प्रतिक्रिया दिनुहुँदै उहाँले भन्नुभयो, “अहिले म कृषकहरुको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरुकै पक्षमा हुनेछ ।”
संविधानसभा सदस्यसमेत रहनुभएका डा. रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने बताउनुभएको छ । डा. रोकाले सामान्य किसानहरुसँग मिल्न र उनीहरुको भावना बुझ्न भनेरै आफूले पिएचडी गरेपनि डा. नलेखेको समेत बताउनुभयो ।
“म सामान्य किसान जस्तै भएर बाँचौ भन्ने हो, डा. लेखेर सामान्य किसानसँगको दूरी नबढोस् भनेरै मैले नामको अगाडि अहिलेसम्म डा. लेखेको छैन ।” उम्मेदवार डा. रोकाले पत्रकारहरुलाई बताउनुभएको छ ।
आगामी निर्वाचनका लागि खोटाङमा डा. रोकासँगै दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट वीरकाजी राई र नेकपा एमालेबाट देवबिक्रम राईले उम्मेदवारी दिनुभएको छ ।
खोटाङमा नेकपा, काँग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । नेकपाका उम्मेदवार डा. रोकाले बुधबारबाटै जनतासँग प्रत्यक्ष भेटघाट गर्न दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ ।
