Monday, April 20

डा. हरि रोकालाई विजयी गराउन टंक राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति

खोटाङ, ८ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा एक हजार १२५ सदस्यीय समिति बनेको छ । डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि नेकपा खोटाङले पूर्वसांसदसमेत रहनुभएका अनुशासन आयोगका केन्द्रीय अध्यक्ष राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, पार्टीका विभिन्न ठाउँमा गठित सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु रहेका छन् । यस्तै, अध्यक्ष राईकै संयोजकत्वमा ११ सदस्यीय आर्थिक सङ्कलन तथा व्यवस्थापन समितिसमेत गठन गरिएको नेकपा खोटाङले जनाएको छ ।

आर्थिक सङ्कलन तथा व्यवस्थापन समितिमा पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष एवम् उपाध्यक्षहरु, पेशागत सङ्गठनका अध्यक्षहरु, व्यवसायीहरु, सम्पर्क समितिका अध्यक्षहरु लगायत रहेका छ । यस्तै, पूर्वमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा १५ सदस्यीय चुनाव प्रचार÷प्रसार तथा घोषणापत्र निर्माण समिति गठन गरिएको छ ।

उम्मेदवार डा. रोकासँग परिचालित हुने नेताहरुको टोलीसमेत निर्धारण गरिएको छ । निर्वाचन कार्यक्रमलाई व्यवस्थित, मर्यादित र परिणाममुखी बनाउन टंक राई, रामकुमार राई ‘पासाङ’, सनबहादुर राई, राजन राई, समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, कमल ढकाल र शुभलाल राई ‘आदेश’को टोली निर्धारण गरिएको हो ।

निर्वाचन क्षेत्रस्तरीय कार्यक्रमको संयोजन तथा व्यवस्थापनका लागि निर्वाचन क्षेत्र नं. १ (क)मा दुर्गाजयन्ती राई र निर्वाचन क्षेत्र नं. २ (ख)मा समिता कार्की ‘अस्मिता’लाई जिम्मेवारी दिइएको छ । यस्तै, निर्वाचन कार्यालय व्यवस्थापनका लागि पार्टीका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

उम्मेदवार तथा नेताहरुले निर्वाचनमा उठाउनुपर्ने विषय निर्धारणका लागि केन्द्रीय सदस्य जलशेर राईको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । यस्तै, जिल्लाभरीका मतदाताहरुको मत सर्वेक्षणका लागि प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।

निर्वाचन कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका लागि काठमाडौँ संयोजकमा गायक तथा सँगीतकार रुपकुमार राई र खोटाङ संयोजकमा बन्दना तामाङ तथा सदस्यहरुमा देवकुमार राई, दानबहादुर राई र भलाकाजी राई तोकिएको छ । स्वयम्सेवक परिचालनका लागि तत्कालीन वाईसिएल नेपालका जिल्ला ईन्चार्ज किसन राई ‘दोबालिछा’को संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

निर्वाचनलाई सभ्य, भव्य र मर्यादित बनाउन कानूनी शिक्षा तथा अनुगमन समितिसमेत गठन गरिएको नेकपाले जनाएको छ । जसका लागि अधिवक्ता एवम् पूर्वसांसद कुलप्रसाद फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

राष्ट्रियस्तरमा प्रभावशाली व्यक्तिहरुसँग समन्वय तथा वार्ताका लागि समेत छुट्टै समिति गठन गरिएको जनाइएको छ । जसका लागि संयोजकमा पूर्वसांसद कुलप्रसाद फुयाल, सदस्यहरुमा प्राध्यापक ध्रुब श्रेष्ठ, अधिवक्ता एवम् प्राध्यापक लक्ष्मीकुमार राई र मुन्दुम अध्यता भोगिराज चाम्लिङ रहनुभएको छ ।

नेकपाले आगामी निर्वाचन सफल बनाउनका लागि यही माघ–१५ गतेभित्र सबै पालिका तथा २० गतेभित्र वडा तहमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाएको छ । नेकपाले आगामी फागुन–५ गतेदेखि बराहपोखरी गाउँपालिकाबाट चुनावीसभा सुरु गर्नेसमेत पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।