
खोटाङ, ८ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्रै दरखास्त परेको हो ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस–२५ गतेदेखि माघ–१ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ–३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।
निर्वाचन प्रहरी भर्ना अन्तरगत आज (माघ–८ गते) दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरिएको छ । यही माघ–१२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहेपनि त्यसअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभएको छ ।
केन्द्रले निर्धारण गरेको कोटाअनुसार खोटाङमा आवश्यक १०९ जना अपुग निर्वाचन प्रहरी छिमेकी जिल्लाबाट ल्याएर पदपूर्ति गरिने जनाइएको छ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीका लागि सरकारले निर्धारण गरेको पारिश्रमिक कम भएकाले युवाको आकर्षण नदेखिएको समाचार स्रोतको दाबी छ ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।
आगामी निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
काँग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई र नेकपाबाट अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त उम्मेदवारी दर्ता गराउनुभएका डा. राई काँग्रेसको पार्टी सदस्यता परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेलगत्तै जिल्ला सभापतिमा पराजित हुनुभएको व्यक्ति हुनुहुन्छ ।
