Monday, April 20

खाेटाङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलसमेत निर्माण गरियाे

खोटाङ, १९ फागुन । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणना स्थल तयार पारेको हो ।

जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणना स्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ ।

मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले पाटेसन (विभाजन) गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ ।

यही फागुन-२१ गते देशकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेकाे खोटाङमा एक लाख ४७ हजार १२० मतदाताले याे निर्वाचनमा मतदान गर्दै छन् । एक सिट (सङ्ख्या)का लागि जिल्लामा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरि १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि राेका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आसन्न निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।

जिल्लामा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुगेर मतदान स्थलसमेत निर्माण गरिसकेकाे जिल्ल निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।