
खाेटाङ, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाेटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् ।
जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।
जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ ।
टाढा रहेका सबै मतदान केन्द्रबाट भाेलि फागुन-२२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइको छ । नजिकै रहेका मतदानस्थलहरुबाट मतपेटिकाहरु आउन थालेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेकाे खाेटाङमा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि राेका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ ।
यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यश पटककाे निर्वाचनमा पुरानै राजनीतिक दल (नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
