
खोटाङ, २५ फागुन । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ । प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएको हो ।
समानुपातिकतर्फ कुल ६३ हजार २५७ खसेको मतमध्ये श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ । गत कातिक–१६ गते मात्रै निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको श्रम संस्कृति पार्टी जिल्लामा पहिलो राजनीतिक दल बन्न सफल भएको हो ।
श्रम संस्कृति पार्टीका लागि प्राप्त मत परिणामले अन्य निर्वाचनमा समेत बलियो उपस्थिति रहने सङ्केत गरेको छ । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो र नेपाली काँग्रेसले तेस्रो धेरै मत पाएको छ ।
वि.सं. २०७९ सालको निर्वाचनमा २४ हजार २७१ मत ल्याएको एमालेले ११ हजार ३८५, काँग्रेसले दश हजार ७०५ मत प्राप्त गरेको छ । देशभरको मत परिणामलाई हेर्दा सबैभन्दा ठूलो राजनीतिक दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा चौथो स्थान ओगटेको छ ।
वि.सं. २०७९ सालको निर्वाचनमा ११ हजार ८४५ मतसहित तेस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) यस पटक पाँचौँ बनेको छ । रास्वपाले आठ हजार ८७९, नेकपाले सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८३८, जनता समाजवादी पार्टी (जसपा)ले २०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले ९५, जनता समाजवादी पार्टी नेपालले ७२, नेपाल मजदुर किसान पार्टीले ३७, मङ्गोल नेशनल अर्गनाइजेशनले ३० र मितेरी पार्टी नेपालले दुई मत पाएको छ । समानुपातिकतर्फ तीन हजार १५७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।
प्रत्यक्षतर्फ ६२ हजार ५६६ मत खसेको जिल्लामा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार प्रयाग राई रहनुभएको छ ।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरु तीलकचन्द्र राई र डा. राजकुमार राईको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ । निर्वाचन कानून अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको दश प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ ।
प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये तीन हजार ९२८ मत बदर भएको भेटिएको छ । बदर भएको अधिकांश मतपत्रमा दुई वा दुईभन्दा बढी चिन्हमा मतदाताले मत सङ्केत गरेको भेटिएको गणकहरुले बताएका छन् ।
प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा एमाले उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ तथा नेपाली काँग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले नौँ हजार ४४३ प्राप्त गर्नुभएको छ । दुईजना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दल (नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए ।
