
खोटाङ, २७ फागुन । गोरखा नगरपालिका–७ गोरखाका सुजन उपरकोटीले कोरिया पठाउने बहानामा खोटाङकी अनुशा तामाङलाई रु एक लाख ठगी गरेको पाइएको छ । धार्मिक सेमीनारका लागि भिजिट भिषा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पुर्खौली थलो भइ हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी अनुशालाई ठगी गरेको पाइएको हो ।
अनुशाबाट अनुशाले कोरिया पठाइदिने भन्दै गत साउनमा बैङ्किङ कारोबारमार्फत रु एक लाख लिएको प्रमाण प्राप्त भएको छ । हाल मनमैजु बस्दैआएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गर्नुभएको छ ।
कोरिया जान तत्काल रु एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर सुजनको खातामा क्यूआर गरिदिएको पाइएको छ । कोरिया पुग्ने सपनामा अनुशाले सुजनलाई गत साउन–१४ गते रु ५० हजार र साउन–१९ गते रु ५० हजारगरी रु एक लाख पठाइदिएको बैङ्क स्टेटमेन्ट (बैङ्क खाता विवरण)मा उल्लेख छ ।
अनुशाको खाताबाट साउन–१४ गते रु २५÷२५ हजारका दरले दुई पटक र साउन–१९ गते रु ५० हजार रकम सुजनको खातामा ट्रान्सफर भएको देखिन्छ । तर, सुजनले न कोरिया पु¥याए, न त पैसा नै फिर्ता दिए । पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुशाका बुबा पहलमान तामाङले बताउनुभएको छ ।
सुजनले कार्यक्रमका लागि कोरियाबाट सात जनाको माग आएको र कोरिया पुगेपछि उतै ‘काम दिलाउने’ भन्दै पैसा मागेको पहलमानको भनाइ छ । पहलमानका अनुसार सुजनले काम नभए हप्तादिनमै पैसा फिर्ता दिने भनेका थिए । तर, पैसा फिर्ता माग्दा पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् ।
पैसा फिर्ता नभए कानूनी उपचार खोज्ने पीडित तामाङ परिवारको तयारी रहेको जनाइएको छ । घटनाका विषयमा जानकारी लिनका लागि फोन सम्पर्क गर्दा सुजनले अनुशाबाट रु एक लाख लिएको स्वीकार गरेका छन् ।
अनुशाबाट लिएको रकम व्यक्तिगत समस्यका कारण समयमा पैसा फिर्ता दिन नसकेको सुजनले प्रतिक्रिया दिएका छन् । सुजनसँगको फोन वार्तालाई आधार मानेर हेर्दा अनुशालाई कोरिया पठाउने नभइ पैसा लिने बहानामात्रै बनाएको देखिन्छ ।
कोरिया पठाउने र जाने विषयमा सुजन र अनुशाका फुपू प्रमिलाको काठमाडौँमा भेट भएको थियो । उपरकोटीले सुरुमा प्रमिलालाई कोरिया जान प्रस्ताव गरेका थिए तर, प्रमिला पारिवारिक समस्यका कारण जान सक्ने अवस्था नभएपछि अनुशालाई पठाउने टुङ्गो लागेको थियो ।
