Monday, April 20

दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा बिहीबारदेखि तीनदिने निःशुल्क शिविर सुरु भएको हो ।

दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकलाई चश्मा वितरण, आँखाको शल्यक्रियापछि कालो चश्मा तथा औषधि वितरण गरिने नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभएको छ । शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोली दिक्तेल आएको छ जनाइएकाे छ ।

शिविरबाट एक हजार १०० जना भन्दाबढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको सभापति कसजुले जानकारी दिनुभएको छ ।
कोशी प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र सरगमाथा चौधरी आँखा अस्पताल लहानसँगको सहकार्यमा नगरपालिकाले निःशुल्क आँखा शिविर आयोजना गरेको हाे ।

आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने जनाइएकाे छ ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको
शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै छिमेकी गाउँपालिका रावाबेंसी, साकेला, दिप्रुङ चुइचुम्मा र केपिलासगढी गाउँपालिकाका नागरिक सेवा लिन आएका छन् । सहरका सुविधा सम्पन्न अस्पतालमा पाइने स्वास्थ्य सेवा आफ्नै गाउँमा निःशुल्क पाउँदा स्थानीबासीले खुशी व्यक्त गरेका छन् ।