Monday, April 20

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ३४७ बालबालिकाले सबै खालका खोपको मात्रा पाएको निश्चत भएपछि आज (बिहिबार ) नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनश्चिति नगरपालिका घोषणा गर्नुभएको हो ।

सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थिति अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतबिद्ध रहेको भन्दै प्रतबिद्धता–पत्रमा हस्ताक्षर सामुहिक गरेका छन् ।

नगर खोप समन्वय समितिको सिफारिको आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित घोषणाका लागि दिएको अनुमतिको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभएको छ । दश स्थानीय तह रहेकाे जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने दिक्तेल नगरपालिका पहिलो बनेको छ ।