Monday, April 20

सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारको व्याङ्ग्यात्मक विरोध

खोटाङ, २० चैत । निजी क्षेत्रका सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्ने नेपाल सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी कार्यालयबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय तत्काल सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घ खोटाङमा आवद्ध पत्रकारहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सरकारको निर्णयलाई विरोध जनाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले शुक्रबार व्याङ्ग्यात्मक रुपमा सरकारलाई रु एक उपहार पठाएको छ । पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्य नेतृत्वको टोलीले खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै रु एक उपहार पठाएका हुन् ।

सरकारको यो निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई पूर्णरुपमा बन्द गराउने उद्देश्यसहित प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेकाले प्रतीकात्मक रूपमा उपहार स्वरुप प्रधानमन्त्री बालेन्द्र शाहलाई रु एक उपहार पठाएर विरोध जनाइएको पत्रकार महासङ्घका अध्यक्ष आचार्यले बताउनुभएको छ । “नेपाल सरकारको यो निर्णय प्रेसमैत्री छैन । निजी क्षेत्रका सञ्चारमाध्यमलाई विभेद गर्ने नीति कुनै हालतमा स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो, “सरकारको निर्णयलाई व्याङ्ग्यात्मक रूपमा विरोध गर्दै रु एक उपहार पठाएका छौँ । विभेदपूर्ण निर्णय तत्काल फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्छौँ ।”

जिल्लाका पत्रकारहरूले उठाएका मागहरू सरकारसमक्ष पु¥याएर सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी कँडेलले प्रतिबद्धता जनाउनुभएको छ । जिल्लामा क्रियाशील पत्रकारहरूले सरकारको निर्णय नसच्याए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारी कार्यालयबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापन सरकारी सञ्चारमाध्यलाई मात्र दिन यही चैत–१८ गते नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरकारी कार्यालयहरुमा परिपत्र भएको छ । सरकारको विभादकारी निर्णय तत्काल सच्याउन माग गर्दै नेपाल पत्रकार सङ्घ, विभिन्न पेसागत सङ्घसङ्गठनमा आवद्ध पत्रकारहरु तथा देशभरका निजी सञ्चारमाध्यमहरुले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर विरोध सुरु गरेका छन् ।