
खोटाङ, १० वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) यही वैशाख–१८ गते उद्घाटन गरिने भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहितको पार्क निर्माण गरिएको हो ।
माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क प्रमुख अतिथिको विषयलाई लिएर पहिचान पक्षधरले गरेको बिरोध तथा भुक्तानी ढिला हुँदा सञ्चालन हुन सकेको थिएन । शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि किरात राई समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको हो ।
कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको यलम्बरको शालिकसहितको पार्क श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले उद्घाटन गर्नुहुने भएको छ । साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्न लागिएको कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, गायक राजेशपायल राई, नायक दयाहाङ राई र नायिका एलिशा राईको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने जनाइएको छ । फाइबर प्रयोग गरेर निर्माण गरिएको यलम्बरको शालिकसहितको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले करिब रु १४ करोड लागतमा निर्माणको काम सम्पन्न गरेको हो ।
पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर पार्कमा अन्य सुविधा सम्पन्न ठाउँमा हुने सबै सेवा सुविधा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । “चारैतिर घेराबारले घेरिएको यलम्बर पार्कको बीचमा यलम्बरको विशाल शालिक राखेका छौँ । आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको यलम्बर पार्क निक्कै आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “यलम्बरको शालिकसहितको यलम्बर पार्कले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरिको छ । वैशाख–१८ गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याएर थप व्यवस्थापनको काम गर्ने छौँ ।”
हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ । बुइपामा विश्वकै अग्लो र ठूलो यलम्बरको शालिकसहित आधुनिक प्रविधिको पार्क निर्माण भएपछि जिल्लाको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको यलम्बर पार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभएको छ । “यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “यलम्बरको शालिकसहितको पार्कलाई नगरपालिकाले गौरवको आयोजनामा राखेर निर्माण सम्पन्न गरिएको छ । पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”
कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्नसमेत सहज हुने देखिएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने उपभोक्ता समितिले जनाएको छ ।
यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यलम्बर पार्कलाई निक्कै महत्वका साथ हेरिएको छ ।
