
खोटाङ, ११ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङबाट ९४ जना सैन्य जवान दीक्षित भएका छन् । सिं.सं. १० अन्तरगत भर्ना भएका ९४ जनाले नौँ महिना लामो ‘सैन्य आधारभूत तालिम’ सफलतापूर्वक पुरा गरेसँगै शुक्रबार मुडे ब्यारेकमा आयोजित कार्यक्रमबाट दीक्षित भएका हुन् ।
सैन्य तालिम समापन भएसँगै तालिममा सहभागी विभिन्न जिल्लाका ९४ जना युवा नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएको रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिनुभएको छ । “विभन्न चरणमा गरिएको छनोट चरण पार गरेका सबैले तालिममा सफलता पूर्वक सहभागिता जनाएका छन्”, उहाँले भन्नुभयो, “तालिम पश्चात दीक्षित भएका उनीहरु सबैलाई देशका विभन्न ठाउँमा सञ्चालित ब्यारेकहरुमा आवश्यकताको आधारमा पठाइएको छ”
रणभीम गणमा वि.सं. २०८२ असार–२ गतेदेखि सुरु भएको उक्त सैन्य आधारभूत तालिम वि.सं. २०८३ वैशाख–११ गते समापन गरिएको छ । मुडे ब्यारेकमा आयोजित तालिम समापन समारोहमा नम्बर १८ बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतका सामु सैनिक जवानले शुक्रबार अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
तालिम अवधिभर सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै सैन्य ढकेन्द्रराज बुर्जामगर ‘सर्वोत्कृष्ट’ घोषित हुनुभएको छ । सर्वोत्कृष्ट हुनुभएका बुर्जामगरलाई सहायक रथी बस्नेतले पुरस्कार स्वरूप खुकुरी प्रदान गर्नुभएको थियो ।
दौडतर्फ सैन्य लेखराज पुनमगर, फायरिङतर्फ सैन्य दुर्गा बुढामगर, बाधापारतर्फ सैन्य बोमबहादुर रानामगर र ड्रिलतर्फ सैन्य राजेन्द्र राक्सेमगर उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएका छन् । विभिन्न विद्यामा पुरस्कृत सैनिक जवानहरुलाई सहायक रथी बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियो ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै सहायक रथी बस्नेतले मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्पसहित कठिन तालिम पुरा गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । सहायक रथी बस्नेतले नौँ महिना लामो तालिम पश्चात सिपाही दर्जामा नियुक्ति हुन सफल भएकोमा दीक्षित सैनिकहरूलाई बधाईसमेत दिनुभएको छ ।
दीक्षान्त समारोह समापनपछि दीक्षित सैनिकहरूले आफ्ना परिवारसँग खुसी साटासाट गरेका थिए । परिवारका सदस्यहरूले उनीहरूलाई दुबोको माला लगाइदिएर बधाई दिँदै देश र जनताप्रति समर्पित भएर काम अनुरोध गरेका छन् ।
