
खोटाङ, १३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आयोजना गरिएको ‘छैँटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडले चुमेको छ । सोल्मास्थित सोल्मा खेलमैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका–५ मात्तिमबिर्तालाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पछि पार्दै बाहुनीडाँडाले प्रथम उपाधि जितेको हो ।
फाइनल खेलको निर्धारित समयमा दुवै वडाबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमार्फत छिनोफानो गरिएको थियो । वैशाख–८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले उद्घाटन गर्नुभएको वडास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका १४ वडाको सहभागिता जनाएको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माले जनाएको छ ।
छैटौँ उपाधि विजेता बन्न सफल बाहुनीडाँडाले रु एक लाख ११ हजार १११ र उपविजेता मात्तिमविर्ताले रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ । सेमिफाइनलिष्ट बाम्राङ र इन्द्रेणीपोखरीले नगद रु २५÷२५ हजारको साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बाहुनीडाँडाका तीलक खड्का सर्वाेकृष्ट खेलाडी घोषित भएका छन् । यस्तै, सोल्माको दिप्सन राईले उदीयमान खेलाडी, बाहुनीडाँडाका डिकेन राईले हाइस्कोरर, सुजन परियारले उत्कृष्ट गोलकिपर, मात्तिमका प्रतीक कटुवालले बेष्ट डिफेण्डर र युसन राईले बेष्टमिडफिल्डरको उपाधि जितेको आयोजकले जनाएको छ ।
इन्द्रेणीपोखरीले अनुशासित टिम (समूह) र बाहुनीडाँडाका दीपेन्द्र राईलाई बेष्टचोक (प्रशिक्षक)को उपाधि प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी खड्काले रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राईजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।
सोल्मा स्पोर्टस् क्लबले यसपल्ट सञ्चालन गरेको छैटौँ संस्करणको फुटबल प्रतियोगिता समापनको अवसरमा प्रदान गरेको ‘खेलकुद पत्रकारिता पुरस्कार–२०८३’ नेपाल पत्रकार महासङ्घ खोटाङका उपाध्यक्ष सविना अछामेलाई प्राप्त गर्नुभएको छ । खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत क्लबले हरेक वर्ष प्रदान गर्दै आएको नगद रु पाँच हजार ५५५ राशीसहितको पुरस्कार समाजेवी हटमिलन राईले पत्रकार अछामेलाई हस्तान्तरण गर्नुभएको हो ।
वि.सं. २०७० सालमा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै खेलमैदान रहेको छ ।
