
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको पार्क कसको हातबाट र कुन मितिमा गर्ने भन्ने विषयमा वडा कार्यालय र नगरपालिकाबीच मतभेद देखिएको हो ।
वडा कार्यालय बुइपाले यही वैशाख–९ गते शुभम् फाउण्डेसन सोल्मामा पत्रकार सम्मेलन गर्दै वैशाख–१८ गते साकेला उँभौलीको अवसर पारेर श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’को हातबाट गराइने जानकारी दिएको थियो । तर, वैशाख–१२ गते बसेको नगर कार्यपालिका बैठकले भने, वैशाख–१७ गते बिहान ८ः३० बजे कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईलाई संयुक्तरुपमा उद्घाटन गराउने निर्णय गरेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।
यलम्बर पार्क उद्घाटन तथा विभिन्न विषयमा निर्णय गर्न आयोजित नगर कार्यपालिका बैठकमा बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख–१८ गते नै हर्क साम्पाङबाट उद्घाटन गराउने अडान राख्नुभएको जनाइएको छ । बुइपाका वडाध्यक्ष दिनेशको अडानमा खार्मीका वडाध्यक्ष इखबहादुर राईले समर्थन जनाउनुभएको थियो भने पाथेकाका वडाध्यक्ष मुगाधन राई कुनै प्रतिक्रिया नदिइ बैठकबाट बाहिरिनुभएको थियो ।
यता, बुइपाका वडाध्यक्ष दिनेशले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडाभित्र निर्माण भएका संरचनाको हेरचाह, रेखदेख तथा व्यवस्थापनको पूर्ण जिम्मेवारी वडा कार्यालयकै हुने उल्लेख गर्नुभएको छ । प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको यलम्बर पार्क निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको र पार्क तथा प्रतिमाको संरक्षण, व्यवस्थापन र सञ्चालनको जिम्मा वडा कार्यालयमै रहेको दाबी गर्नुभएको छ ।
यलम्बर पार्क र प्रतिमाको देशव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले साकेला उँभौलीको अवसर पारेर वैशाख–१८ गते उद्घाटन कार्यक्रम तय गरिएको वडाध्यक्ष दिनेशले बताउनुभएको छ । वडाध्यक्ष दिनेशले यो विषय पूर्णरूपमा वडाको क्षेत्राधिकारभित्र पर्ने जानकारी दिनुहुँदै अन्य निकायबाट आउने भ्रमपूर्ण सूचना वा निर्णयको पछि नलाग्न स्थानीयवासीलाई सामाजिक सञ्जालमार्फत अनुरोधसमेत गर्नुभएको छ ।
वडा कार्यालयले आयोजना गर्न लागेको उद्घाटन कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, गायक राजेशपायल राई, नायक दयाहाङ राई र नायिका एलिशा राईको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यलम्बर पार्क उद्घाटनको विषयमा नगरपालिका र वडा कार्यालय बुइपाले छुट्टाछुट्टै कार्यक्रम तय गरेपछि सामाजिक सञ्जालमार्फत दुवै पक्षको चौतर्फी बिरोध भइरहेको छ ।
नगरप्रमुख भट्टराईले बुइपाका वडाध्यक्ष दिनेश राईसँग थप छलफल गरेर वैशाख–१७ गते नै साझा सहमतिमा यलम्बर पार्क उद्घाटन गर्ने बताउनुभएको छ । “नगरपालिका र प्रदेश सरकारको लगानीमा विश्वकै सबैभन्दा अग्लो यलम्बरको प्रतिमा बुइपाको पञ्चदोबाटोमा निर्माण गरिएको छ । यो सबैको साझा सम्पत्ति हो”, उहाँले भन्नुभयो, “बुइपाका वडाध्यक्षसँगको समन्वय अभावमा यलम्बर पार्क उद्घाटन मिति तथा प्रमुख अतिथि फरक–फरक भएको छ । थप छलफल गरेर वैशाख–१७ गते नै साझा सहमतिमा उद्घाटन गर्ने वातावरण निर्माण गर्छौँ ।”
माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क प्रमुख अतिथिको विषयलाई लिएर पहिचान पक्षधरले गरेको बिरोध तथा भुक्तानी ढिला हुँदा सञ्चालन हुन सकेको थिएन । शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि उद्घाटन गर्ने तयारी गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने जनाइएको छ । फाइबर प्रयोग गरेर निर्माण गरिएको यलम्बरको शालिकसहितको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले करिब रु १४ करोड लागतमा निर्माणको काम सम्पन्न गरेको हो ।
यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यलम्बर पार्कलाई निक्कै महत्वका साथ हेरिएको छ ।
