
खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको प्रथम किराती यलम्बरको ११० फिट अग्लो शालिकसहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवाद समाधान उन्मुख भएको छ । बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको विश्वकै सबैभन्दा अग्लो यलम्बरको शालिकसहितको पार्क उद्घाटनको विषयमा नगरपालिका र वडा कार्यालयबीच विवाद चुलिएपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको समन्वयमा भएको छलफल सहमति नजिक पुगेको हो ।
कोशी प्रदेश सरकारको ७० तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा स्थापना गरिएको यलम्बरको शालिकसहितको पार्क नगरपालिकाले वैशाख–१७ गते र वडा कार्यालय बुइपाले वैशाख–१८ गते उद्घाटन गर्ने मिति तय गरेपछि बिवाद चुलिएको थियो । नगरपालिकाको गौरवको योजनमा पर्ने यलम्बर पार्क उद्घाटनमा प्रमुख अतिथिको विषयलाई लिएर नगरपालिका र वडा कार्यालयबीच विवाद भएको हो ।
नगरपालिका र वडा कार्यालयबीच विवाद भएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा सोमबार भएको छलफलमा आयोजक नगरपालिका रहने र वैशाख–१८ गते साकेला उँभौलीकै दिन उद्घाटन गर्ने साझा सहमति भएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । प्रमुख अतिथिको विषयमा भने मुन्दुमविद्, जेष्ठ नागरिक, शालिकका परिकल्पनाकार वा नछुङ (धामी)मध्येबाट एक जनालाई अनावरण गराउने विषयमा कार्यपालिकाको बैठकले टुङ्गो लगाउने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ प्रतिनिधिसभा सदस्य आरेन राई, कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो, संविधानसभा सदस्यहरू, पूर्व सांसदहरूलाई विशेष आतिथि बनाउने विषयमा छलफल भएको छ । उता, बुइपाका वडाअध्यक्ष दिनेश राईले भने प्रमुख अतिथि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नै हुने दाबी गर्नुभएको छ ।
निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्दै आएको यलम्बर पार्क वडा कार्यालय बुइपाले वैशाख–९ गते पत्रकार सम्मेलन गरेर वडाकै आयोजनामा श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङबाट वैशाख–१८ गते उद्घाटन गर्ने जानकारी दिएको थियो । त्यसको पर्सिपल्ट नगरपालिकाले अर्को पत्रकार सम्मेलन गरेर नगरकै आयोजनामा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट वैशाख–१७ गते अनावरण गर्ने जानकारी गराएको थियो ।
नगरपालिकाभित्र भएका विकास निर्माणका योजनाहरूको अपन्वत्व नगरले लिनुपर्ने जनाउँदै उक्त शालिक निर्माणको अपन्वत्व पनि लिँदै नगरकै आयोजनामा यलम्बर पार्क उद्घाटन कार्यक्रम हुनुपर्ने नगरपालिकाले अडान लिएको छ । यलम्बरको शालिकसहितको पार्क निर्माणको काम गत वर्ष नै सम्पन्न भएपनि बजेट अभावका कारण यस वर्षमात्रै निर्माण कम्पनीलाई भुक्तानी दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिनुभएको छ ।
यलम्बर पार्क निर्माण सम्पन्न भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गत वर्षको जेठ–१८ गते उद्घाटन गर्ने योजना बनाइएपनि पहिचान पक्षधरहरूले अबरोध गरेका थिए । १ नं. प्रदेशको नाम केशी प्रदेश नामाकरणको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई लगायत ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरेपछि स्थगित भएको थियो ।
फाइबर प्रयोग गरेर निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले करिब रु १४ करोड लागतमा निर्माणको काम सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । माझ किरात भनेर चिनिने खोटाङको बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको यलम्बरको शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने जनाइएको छ । यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत रहेकाले यो योजनालाई निक्कै महत्वका साथ हेरिएको छ ।
