Thursday, June 4

खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

खोटाङ, १४ वैशाख । खोटाङमा तीन स्थानीय तहले आइतबार पनि विद्यालयहरुमा पठनपाठन सञ्चान गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो ।

सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिएपनि तीन पालिकाले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख-१२ गते बसेको कार्यपालिका बैठकबाट आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो ।

सङ्घीय सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भन्दै तीन पालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरिएको जनाएकाे छ । वैशाख-१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराइले बताउनुभएको छ ।

नगरपालिकाभित्र ८६ वटा सामुदायिक र ११ वटा निजी विद्यालय छन् । वि.सं. २०८२ मा पालिकाभरि तीन हजार ८३६ विद्यार्थी सङ्ख्या रहेको नगरपालिकाले जनाएको छ ।

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा आइतबार अति आवश्यक सेवा दिनेसमेत निर्णय गरेको छ । उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे वैशाख-११ गते बसेकाे गाउँ कार्यपालिका बैठकले सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

आइतबार सार्वजनिक बिदा दिँदा पाठ्यभार पूरा गर्न नसकिने निष्कर्षसहित बिदा कटौती गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लाेकेन्द्र राईले बताउनुभएको छ । सङ्घीय सरकारले वैशाख-१५ गतेबाट भर्ना अभियान र वैशाख-२१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।

सङ्घीय सरकारकाे निर्देशन अनुसार पठनपाठन गर्दा विद्यमान पाठ्यक्रम नसकिने भएकाले वैशाख-१५ गतेबाटै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरिएकाे गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थी भर्ना पनि स्वतःस्फूर्त सञ्चालन गरिरहेका छन् ।

यसअघि खोटेहाङ गाउँपालिकाले पनि सङ्घीय सरकारलाई चुनौति दिनेगरी वैशाख-१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख-१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ । भर्ना अभियान सकेर नियमित पठनपाठन सुरु गरिएको गाउँपालिकाका विद्यालय निरीक्षक मानबहादुर पौडेलले जानकारी दिनुभएको छ ।

पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने उल्लेख गर्दै गाउँपालिकाले सङ्घीय सरकारको समय सीमाभन्दा अगाडिबाटै विद्यालय खुलाएको जनाएकाे छ । यस्तै, सरकारी कार्यालयमा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशनलाई पनि हाललाई कार्यान्वन नगर्ने निर्णय गरिएकाे गाउँपालिकाले जनाएको छ ।