Thursday, June 4

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ, २९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा ६५.४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई खोटाङले दिएको जानकारी अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १०.७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको हो ।

गत वर्षको एसइईमा जिल्लाभर ५४.६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यो वर्ष जिल्लाका १०५ वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

साधारण धारतर्फ दुई हजार ४५२ जना विद्यार्थी एसइईमा सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४.० सम्म ७२ जना, ३.२ देखि ३.६ सम्म २३७ जना, २.८ देखि ३.२ सम्म ६६५ जना, २.४ देखि २.८ सम्म ६१८ जना, २.० देखि २.४ सम्म ५८ जना, १.६ देखि २.० सम्मको जिपिए ल्याउने ५ र अवर्गीकृत ७९७ जना विद्यार्थी रहेका छन् ।

प्राविधिक धारतर्फ १५४ जना विद्यार्थीमा ३२.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तीर्थराज विश्वकर्माले जानकारी दिनुभएको छ । जिल्लामा यस वर्ष एसइईमा दिक्तेल बोर्डिङ स्कूलका छात्र अभय सिंहले ३.९५ जिपिए ल्याएर उत्कृष्ट भएका छन् । सोही विद्यालयका आयुस खनालले ३.९२ र रोजन थापाले ३.९१ जिपिए ल्याएका छन् ।

सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका दिपिका शाक्यले ३.८६, डेनिसा अधिकारीले ३.८२ र त्रिभुवन मावि ऐसेलुखर्ककी स्पन्दना राईले ३.८३ जिपिए ल्याएका छन् । त्यस्तै, १०५ विद्यालयमध्ये दिक्तेल बोर्डिङ स्कूल उत्कृष्ट भएको छ ।

यस वर्षको एसइईमा मनोकामना जनकल्याण मावि निर्मलीडाँडा, माउन्ट एभरेष्ट ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेल, पञ्च मावि दिक्तेल, सावित्रा मावि बाम्राङ, धिप्लुङ मावि सेम्मा छितापोखरी, शान्तोदय मा.वि ज्यामिरे, सिंहदेवी मावि बोपुङ, शान्ति मावि प्वाँला टेम्मा, ज्योति मावि जालपा, हिलसाइड स्याम्पल ऐकेडेमी, हिमालय मावि सोल्मा र युमि बोर्डिङ स्कूल दुर्छिमले शत प्रतिशत नतिजा ल्याएको छ । यस वर्ष साधारण धारतर्फ ग्रेडवृद्धिमा २४८ जना र प्राविधिक धारतर्फ तीनजना विद्यार्थीे सहभागी भएका थिए ।

माध्यमिक तहका ९८ वटा सामुदायिक तथा छवटा निजी विद्यालय रहेको जिल्लामा २० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चान भएको थियो । गत वर्षसम्म २५ वटा केन्द्रमा एसइई सञ्चालन गरिएको जिल्लामा विद्यार्थी सङ्ख्या घट्दै गएपछि परीक्षा केन्द्रको सङ्ख्यासमेत घटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।