
खोटाङ, ३१ वैशाख । रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले आज (बिहीबार)बाट औपचारिक रुपमा आफ्नो दैनिक सेवा प्रवाह सुरु गरेको हो ।
सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशतगरी लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिनुभएको छ । “गाउँपालिकाको प्रशासनिक भवन नहुँदा ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “प्रशासनिक भवन निर्माणको क्रममा सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत सास्ती भएको थियो । अहिले आफ्नै सुविधा सम्पन्न पक्की प्रशासनिक भवन सञ्चालनमा आएपछि सहज भएको छ ।”
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेकेदार कम्पनी एसई–धुम–एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी वि.सं. २०८० असोज–२१ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा अगाडि नै आफूले जिम्मा लिएको प्रशासनिक भवन निर्माण सम्पन्न गरेर वि.सं. २०८२ चैत–२१ गते गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले वि.सं. २०८० वैशाख–२४ गते रु आठ करोड ४४ लाख ५७ हजार २५५ मा ठेक्का आव्हान गरेको थियो । ठेकेदार कम्पनीले रु पाँच करोड ४८ लाख ४४ हजार ५८० रकममा सम्झौता गरेर प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् पञ्जीकरण शाखा प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभएको छ ।
प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको चार महिनापछि गाउँपालिकाले वि.सं. २०८० माघ–२२ गते औपचारिक रुपमा शिलान्यास गरेको थियो । महिला÷पुरुष छुट्टाछुट्टै सौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको प्रशासनिक भवनमा २१ वटा कोठा रहेका छन् ।
नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत दाहालले बिहीबार संयुक्तरुपमा रिबन काटेर गर्नुभएको छ । प्रशासनिक भवन उद्घाटनअघि हिन्दु परम्पराअनुसार ब्राम्हण पढाएर शान्ति पूजासमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
देश सङ्घीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाउँ विकास समिति (गाविस)लाई समेटेर छवटा वडा रहेको एउटा स्थानीय तह (लामीडाँडा गाउँपालिका) घोषणा गरिएको थियो । साविकको छ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिका प्रमुख श्रेष्ठ लगायतको टोलीले अनसन बस्नेसम्मको चरणवद्ध आन्दोलन गरेका थिए ।
आन्दोलनकै बलमा छुट्टै स्थानीय तह (तत्कालीन नाम लामीडाँडा) घोषणा गरिएको यस रावाबेँसी गाउँपालिका कृषि उत्पादनमा जिल्लाकै सबैभन्दा उर्वर भूमि मानिन्छ । यस गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना’ निर्माणस्थलसमेत छ ।
सुरुमा खार्पा केन्द्र र लामीडाँडा गाउँपालिका नाम तोकिएपछि सबै नागरिकलाई पायक नपर्ने भन्दै कुभिण्डे, हौँचुर, दुवेकोल र डुम्रेधारापानीका नागरिकहरू पुनः आन्दोलनमा उत्रिएका थिए । केही समयपछि निर्वतमान गाउँपालिका प्रमुख लीलानाथ निरौला नेतृत्वको कार्यापालिकाको बैठकको निर्णयले गाउँपालिकाको नाम रावाबेँसी तोक्दै केन्द्र कुभिण्डेको हरमटारमा सारिएको थियो ।
हरमटारमा व्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको केही समय पश्चात गाउँपालिकाले स्थानीयबाट निःशुल्क जग्गा प्राप्त गरेपछि ट्रस भवन निर्माण गरेर गाउँपालिका सारिएको थियो । हरमटारमा यसअघि कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्रगरी तीनवटा पक्की भवन निर्माण भइसकेका छन् ।
खार्पामा सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अघिल्लो कार्यकालका जनप्रतिनिधिले हरमटार सारेको विषयमा सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । तर, सर्वोच्च अदालतले उक्त गाउँपालिकाको केन्द्र हरमटारनै कायम रहनेगरी वि.सं. २०८० चैत २२ गते फैसला सुनाएपछि विवाद टुङ्गिएको छ ।
