
खोटाङ, ३१ वैशाख । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहज जीवनयापनका लागि सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्र बसोवास गर्दै आएका अपाङ्गता भएका व्यक्तिमध्ये सात जनालाई ह्वील चियर, चार जनालाई ट्वाइलेट चियर, दश जनालाई एलकेन लौरो, दुई जनालाई हेयरिङ एड, एक जनालाई मोडिफाइ सुज र दुई जनालाई कृतिम हात वितरण गरिएको हो ।
गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले जानकारी दिनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले विभिन्न प्रकृतिका अङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्नुभएको गाउँपालिका स्थानीय सहजकर्ता हेमकुमारी घिमिरेले जानकारी दिनुभएको छ । वडा कार्यालयले पहिचान गरेर सिफारिस गरेका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत सहायक सामग्री खरिद गरेर निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सातवटा वडा रहेको यो गाउँपालिकामा २७७ जना अपाङ्गता भएका व्यक्ति बसोवास गर्दै आउनुभको गाउँपालिकाले जनाएको छ । उनीहरुका लागि गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभएको छ ।
कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा जिल्लाका दशवटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी त्रिपक्षीय साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् ।
