Saturday, June 6

भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, साप्सुखोलाले ब्रेकर बगायो

खोटाङ, २३ जेठ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेको बस, सुमो र मोटरसाइकल यात्री अलपत्र परेका छन् । भीषण बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाअध्यक्ष दिनेश कठायतले जानकारी दिनुभएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले डोजर तथा स्काभेटरसहित कामदार परिचालन गरेको छ । बाढीका कारण गएरातिबाट अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरुलाई आग्रह गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५÷३० मिटर सडक अवरुद्ध बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । अवरुद्ध खुलाउन प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

पङ्खुखोलामा वि.सं. २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी ठेकेदारले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरबाहीले पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका साधन वारपार गर्नुपर्ने बाध्यता थियो ।

पङ्खुखोला मोटरेबल पक्की पुल अलपत्र भएको अवस्थामा श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले यही जेठ–१७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । अटो तथा मोटरसाइकल वारपार गराउने मिल्नेगरी पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको हो ।

गएरातिको बाढीले काठे पुलसमेत बगाएपछि पैदल यात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । पक्की पुलको बिकल्पमा बिरामी तथा विद्यार्थीका लागि लक्षित गरेर श्रमदाताले सञ्चालनमा ल्याएको काठे पुल बाढीले बगाएपछि दीर्घकालीन समस्या समाधानमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको श्रम संस्कृति पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ ।

यसैबीच, गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले ब्रेकर बगाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडको सीमानामा पर्ने साप्सुखोला किनारमा निर्माण व्यवसायीले ढुङ्गा फुटाउन प्रयोग गर्दै आएको ब्रेकर बगाएको हो ।

गएराति आएको भीषण वर्षपछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

वि.सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सेवा सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा यातायात सेवा विस्तार भएको छ । यातायात सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्ग बाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिनामात्रै सञ्चालन हुने गरेको छ । हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएको ग्रामीण सडक हरेक वर्षको जेठदेखि आगामी कातिक अन्तिमसम्म अवरुद्ध हुने गरेको छ ।