Saturday, June 6

पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

खोटाङ, २३ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सडकखण्डमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक शनिबार साँझबाट सञ्चालनमा आएको छ । जेठ–२२ गते शुक्रबार साँझ परेको भारी वर्षपछि आएको भीषण बाढीले अवरुद्ध बनेको सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् ।

पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, सुमो र मोटरसाइकल सहजरुपमा आवतजावत गर्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्काभेटर तथा रणभीम गण मुडे ब्यारेक तथा जिल्ला प्रहरी कार्यालय खोटाङले जनशक्ति उपलब्ध गराएको थियो ।

पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । पङ्खुखोलामा वि.सं. २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी ठेकेदारले काम थालेको थियो ।

कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारी साधन वारपार गर्नुपर्ने बाध्यता छ । पङ्खुखोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र भएको अवस्थामा श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले यही जेठ–१७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।

श्रमदान गरेर निर्माण गरिएको काठे पुल गएरातिको बाढीले बगाएपछि पुनः बाढी आएको समयमा आवतजावत गर्न समस्या हुने स्थानीयले बताएका छन् । अटो तथा मोटरसाइकल वारपार गराउन मिल्नेगरी श्रम संस्कृति पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको हो ।

शुक्रबार राति आएको भीषण वर्षपछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

वि.सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सेवा सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा यातायात सेवा विस्तार भएको छ । यातायात सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्ग बाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिनामात्रै सञ्चालन हुने गरेको छ । हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएको ग्रामीण सडक हरेक वर्षको जेठदेखि आगामी कातिक अन्तिमसम्म अवरुद्ध हुने गरेको छ ।

यसैबीच, गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले ब्रेकर बगाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडको सीमानामा पर्ने साप्सुखोला किनारमा निर्माण व्यवसायीले ढुङ्गा फुटाउन प्रयोग गर्दै आएको ब्रेकर बगाएको हो ।