
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसर पारेर चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समिति पुरस्कृत भएको हो ।
कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं. ७ खोटाङबजारका कृषक तुलसीराम चौलागाईँ, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ४ बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ८ सिम्पानीका सुवाश खड्का र पशुपालनतर्फ सबैभन्दा बढी पशुपालन गर्ने वडा नं. १ लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत हुनुभएको छ । पुरस्कृत कृषकलाई जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिनुभएको छ ।
विद्यार्थीतर्फ सिद्ध आधारभूत विद्यालय खोटाङबजारको कक्षा–५ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने विद्यार्थी सिम्रण गुरुङ, कक्षा–८ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने भगवती दिनानाथ माध्यमिक विद्यालयकी सम्झना राई, माध्यमिक शिक्षा परीक्षामा (एसइई)मा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीण हुने भगवती दिनानाथ माध्यमिक विद्यालयका अनिश फुयाँल र कक्षा–१२ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने भगवती माध्यमिक विद्यालयकै नवराज श्रेष्ठ पुरस्कृत हुनुभएको छ । विभिन्न तहमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएकामा पुरस्कृत विद्यार्थीलाई जनही रु सात हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षकतर्फ माध्यमिक विद्यालय तहमा सिम्पानी माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद घिमिरे, निम्नमाध्यमिक विद्यालय तहमा देविस्थान आधारभूत विद्यालय बडकादियालेका किरण राई र प्राथमिक विद्यालय तहमा महाकन्या आधारभूत विद्यालय वाप्लुखाका पेशलकुमार राई तथा बालविकास केन्द्रतर्फ भगवती दिननाथ माध्यमिक विद्यालयकी पूजन अधिकारी पुरस्कृत हुनुभएको छ । पुरस्कृत शिक्षकहरुलाई जनही नगद रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा माध्यमिक तहमा वडा नं. २ वाप्लुखाका महेन्द्रोदय माध्यमिक विद्यालयका अध्यक्ष दिपेन थुलुङ र निम्नमाध्यमिक विद्यालयतर्फ संस्था समाजकाली आधारभूत विद्यालय वाप्लुखाका अध्यक्ष इन्द्रहाङ राई तथा प्राथमिक विद्यालयतर्फ पञ्चकन्या आधारभूत विद्यालय नराहा इन्द्रेणीपोखरीका अध्यक्ष श्रीकुमार राई पुरस्कृत हुनुभएको छ । पुरस्कृत विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुलाई जनही नगद रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयतर्फ माध्यमिक तहमा उत्कृष्ट पठनपाठन गर्ने सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङ, निम्नमाध्यमिक तहमा सरस्वती आधारभूत विद्यालय लिकुवापोखरी तथा प्राथमिक विद्यालयतर्फ कक्षा–१ देखि ५ सम्मका चौतारेडाँडा आधारभूत विद्यालय इन्द्रेणीपोखरी र कक्षा–१ देखि ३ सम्ममा बालबाटिका आधारभूत विद्यालय सावाकटहरे रहेका छन् । पुरस्कृत विद्यालयलाई जनही नगद रु दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीतर्फ गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर सञ्जय चौधरी, वडा सचिव वडा नं. ४ बडकादियालेमा कार्यरत मनिषा गिरी र स्वास्थ्यकर्मीतर्फ स्वास्थ्य चौकी सिम्पानीमा कार्यरत जनस्वास्थ्य निरीक्षक नवराज राई रहनुभएको गाउँपालिकाका सूचना अिधकारी रोशन पौडेलले जानकारी दिनुभएको छ । पुरस्कृत कर्मचारीलाई जनही नगद रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यालय सहयोगीतर्फ स्वास्थ्यचौकी खोटाङबजारका नारायण श्रेष्ठ, वडा नं. ६ इन्द्रेणीपोखरीका रामचन्द्र राई र सावानागी आधारभूत विद्यालय सावाकटहरेका हाकिमराज मगर पुरस्कृत हुनुभएको छ । पुरस्कृत कार्यालय सहयोगीलाई जनही नगद रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालय लेखा कर्मचारीतर्फ उत्कृष्ट काम गर्ने विणा माध्यमिक विद्यालय लिकुवापोखरीका लेखा कर्मचारी जगतबहादुर कार्की पुरस्कृत हुनुभएको छ । पुरस्कृत कार्कीलाई नगद रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्माण उपभोक्ता समितिमध्ये उत्कृष्ट काम गर्ने मेर्ला गोरेटो बाटो निर्माण उपभोक्ता समिति इन्द्रेणीपोखरी पुरस्कृत भएको छ । गाउँपालिकाभित्र गठन गरिएका निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने मेर्ला गोरेटो बाटो निर्माण उपभोक्ता समिति इन्द्रेणीपोखरीलाई नगद रु दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कृत कृषक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा निर्माण उपभोक्ता समितिलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको छ । आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्न हौसला मिलेको पुरस्कृत व्यक्तिहरुले बताएका छन् ।
