Sunday, June 7

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित

खोटाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । रास्वपा खोटाङको आइतबार साँझ सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सर्वसहमतिले नयाँ नेतृत्व चयन नभएपछि गरिएको निर्वाचनमा ओजोनबाबु आचार्यलाई भारी मतले पराजित गर्दै थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

जिल्ला सभापतिका अर्का उम्मेदवार आचार्यले २८ मत ल्याउँदा थापाले ७८ मत ल्याएर सभापतिमा विजयी हुनुभएको जनाइएको छ । वि.सं. २०८१ पुस–१३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थायी वासिन्दा जिल्ला सभापति थापा पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ । नवनिर्वाचित जिल्ला सभापति थापाले यसअघि वि.सं. २०८१ पुस–१३ गते भएको प्रथम जिल्ला भेलामा डा. राजकुमार राईलाई पराजित गर्दै सभापतिमा पहिलो पटक निर्वाचित हुनुभएको थियो ।

रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको जनाइएको छ । अधिकांश पदमा उम्मेदवार भएपनि उपसभापतिमा भुजेल र कोषाध्यक्षमा दाहालको एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले दुवै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा भारी मतले निर्वाचित हुनुभएको छ । सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत प्राप्त गर्दा थापाले ७१ मत ल्याएर सचिवमा विजयी हुनुभएको हो ।

सहसचिवमा राजन अधिकारी भारी मतले निर्वाचित हुनुभएको छ । तीन जना उम्मेदवार रहेको सहसचिव पदमा अधिकारीले ६४ मत ल्याएर विजयी हुँदा दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले नौँ मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरुमा प्रकाश अधिकारीले ५२ र केशरबहादुर श्रेष्ठले २९ मत ल्याएर विजयी हुँदा चन्द्रबहादुर परियार निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ । एघार सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन जना महिला सदस्य चयन गर्ने जनाइएको छ ।

द्युईवटा निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचन क्षेत्र १ (क)मा लवबहादुर गुरुङ ‘लक्की’ संयोजक, तुलाबहादुर खत्री सचिव र भीमण गुरुङ सदस्य चयन हुनुभएको छ । निर्वाचन क्षेत्र नं. २ (ख)को अधिवेशन हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

दिक्तेलबजारस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गर्नुभएको थियो । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य ज्ञवालीले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।

पार्टीको प्रथम जिल्ला अधिवेशनमा जिल्लाका आठ स्थानीय तहको प्रतिनिधि सहभागी भएको नवनिर्वाचित जिल्ला सभापति थापाले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा प्राविधिक कारणले दुईवटामा अधिवेशन गर्न बाँकी रहेको जनाइएको छ ।