Monday, September 14

घर जलेर विस्थापित भएका धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर

खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ । गत चैत–१८ गते विद्युत सर्ट हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथान निवासी धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।

डम्बर्खुशिवालयकी स्थानीय अभियान्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुरमान राईले जानकारी दिनुभएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि धनबहादुरको श्रीमती, छोराबुहारी, छोरी र नातीसहित छ जनाको परिवार विस्थापित भएका थिए ।

आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनः स्थापनाका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन अभियान थालिएको थियो । स्थानीय अभियान्ता खड्काले आगलागी भएकै दिनदेखि सामाजिक सञ्जालमा फेसबुकर्फत धनबहादुरको घर पुनः निर्माणका लागि सहयोग अभियान थाल्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट सहयोगको आव्हान गरिएपछि धनबहादुरको घर पुनः निर्माणका लागि नगद, दाल, चामल र तेलसहित रु तीन लाख पाँच हजार १५७ सहयोग जुटेको अभियान्ता खड्काले जानकारी दिनुभएको छ् । आर्थिक तथा खाद्यान्न सहयोग जुटेपछि धनबहादुरका लागि तीनतिर बरण्दा भएको जस्तापाताको छानासहितको दुईतले नयाँ घर निर्माण गरिएको जनाइएको छ ।

आगलागीमा घरसहित सम्पूर्ण सामग्री गुमाएर विस्थापित बनेका धनबहादुरको परिवार दाताको सहयोगमा निर्माण गरिएको नयाँ घरमा सरिसकेको जनाइएको छ । आगलागी भएको तीन महिनामै दाताको सहयोगमा जस्तापातासहितको नयाँ घर पाएपछि धनबहादुरको परिवार हर्षित भएका छन् ।

घरसँगै जलेको छोरी सुमिता र आफ्नो नागरिकताको प्रतिलिपी बाहेक अन्य डकुमेन्ट (प्रमाणपत्र) बनाउन बाँकी रहेको आगलागी पीडित धनबहादुरले जानकारी दिनुभएको छ । छोरा सुनिल र छोरी सुमिताको आगलागीमा जलेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को डकुमेन्ट र जग्गाधी लालपुर्जा निकाल्न बाँकी रहेको जनाइएको छ ।