
खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा यो शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । जसमा १३ जना बेसहारा, ११ जना विपन्न र तीन जना दूरी टाढा भएका विद्यार्थी छन् ।
लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा गरिब, दलित र असाह्य बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यो विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गर्छन् ।
वि.सं. २०१४ सालमा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा दुई जना विद्यार्थीले शुल्क तिरेर अध्ययन गरिरहेको शिक्षक जीवन राईले जानकारी दिनुभएको छ । “विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी छन् । उनीहरुका लागि हामीले नै बुबाआमाको जिम्मेवारी पूरा गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “चाडपर्व तथा विशेष अवसरमा उनीहरुसँगै बसेर मनोरञ्जन गर्छौँ । यसले उनीहरुमा थप उर्जा मिल्ने अनुमान गरिएको छ । आवासी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएपछि दुई जना विद्यार्थीका अभिभावकले शुल्क तिरेर यो आवासमा राखेका छन् ।”
विद्यालयमा सञ्चालित आवासीय कार्यक्रम अन्तरगत कक्षा–२ मा दुईजना, कक्षा–३ मा एकजना, कक्षा–४ मा सातजना, कक्षा–५ मा पाँचजना, कक्षा–६ मा चारजना, कक्षा–७ मा आठजना र कक्षा–१० मा एकजना विद्यार्थी अध्ययनरत छन् । आवासमा बसेकामध्ये गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा शुभराज राईले ३.२५ जिपिए तथा भूमिजङ राईले २.९७ जिपिए ल्याएर उत्तीर्ण गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा सञ्चालित आवासीय शिक्षा कार्यक्रममा छिमेकी जिल्ला उदयपुरका एकजना बेसहारा विद्यार्थीसमेत अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिनुभएको छ । “आवासमा बस्ने विद्यार्थीका लागि विद्यालयको तीनवटा कक्षाकोठालाई आवासको रुपमा प्रयोग गरिएको छ । यो कार्यक्रममा दश जना छात्रा तथा १९ जना छात्र छन्”, उहाँले भन्नुभयो, “आवासमा बस्ने विद्यार्थीहरुलाई लिङ्ग र उमेर समूहमा विभाजन गरेर छुट्टाछुट्टै राखिएको छ । उनीहरुको रेखदेख, पठनपाठन तथा खेलकुदका लागि चौबीसै घण्टा समय दिने गरेका छौँ ।”
कक्षा–१० सम्म पठनपाठन हुने यो विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आवाससहितको शिक्षा कार्यक्रमका लागि प्रधानाध्यापकसहित दुईजना शिक्षक तथा एकजना कर्मचारीको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले जानकारी दिनुभएको छ । “आवासीय विद्यालय सञ्चालन गर्न सुरुका दिनमा धेरै चुनौती थियो । गाउँपालिकाले उपलब्ध गराउने बजेट समयमा निकासा नहुँदा आफूले लगाएको माखामुन्द्रोसमेत जाकटी राखेर खर्च व्यवस्था गरेँ । अहिले सहजरुपमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबीसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्दै आउनुभएको छ । निःशुल्क आवासमा बसेर अध्ययन गर्ने विद्यार्थीसमेत खुशी रहेका छन् ।”
गाउँपालिकाभित्रका गरिब, दलित र असाह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन गाउँपालिकाको लगानीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो । “गरिब, दलित र असाह्य बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । निःशुल्क आवासीय विद्यालय सुरु गरेपछि हाम्रो गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु परेको छैन”, उहाँले भन्नुभयो, “आवासीय शिक्षाका लागि गाउँपालिकाबाट हरेक वर्ष रु १८ लाख बजेट उपलब्ध गराउँदै आएका छौँ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।”
तत्कालको लागि विद्यालयकै दुईवटा भवनमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रमको औपचारिक उद्घाटन तत्कालीन कोशी प्रदेश सरकारका पूर्व उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुभएको थियो । गाउँपालिकाको लगानीमा गरिब, दलित र असाह्य बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरेपछि लक्षित वर्गका बालबालिकाका लागि लक्ष्मी मावि भरोसाको केन्द्र बनेको स्थानीयले बताएका छन् ।
गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रमले अभिभावक तथा खर्च अभावका कारण बीचैमा पढाइ छाडेर बस्नुपर्ने अवस्थाका विद्यार्थीलाई ठूलो राहत मिलेको पाइएको छ । आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीहरुले समेत वार्षिक रुपमा रु ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरुलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने विद्यालय प्रशासनले जनाएको छ ।
शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छ जना छात्रछात्रालाई छात्रबृत्ति उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
