
खोटाङ, १५ असार । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ श्ययाको आधारभूत अस्पताल भवन अलपत्र बनेको छ । हरेक स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार निर्माण सुरु गरिएको १५ श्ययाको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको हो ।
वि.सं. २०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले वि.सं. २०७८ असार–२५ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशतमात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभएको छ ।
निर्माणाधीन अवस्थामै अलपत्र बनेको आधारभूत अस्पताल भवनको दुईवटा ब्लकमध्ये एउटामात्र ठडिदै गरेकोमा त्यो पनि बीचैमा छाडिएको छ । अर्को ब्लक भवनका लागि जगमात्र उठाएर अलपत्र अवस्थामा छाडिएको पाइएको छ ।
अलपत्र अवस्थामा रहेको अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता गर्ने मुख्य ठेकेदार कम्पनीले सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा कामको जिम्मा दिएको पाइएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँचपटकसम्म म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि ठेकेदार कम्पनीले रु छ करोड ४९ लाख छ हजार रकम भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।
दक्षिणी क्षेत्रका स्थानीयलाई लक्षित गरेर निर्माण सुरु गरिएको अस्पताल भवनका लागि पहिलोपटक वि.सं. २०८० असार–२५ गतेसम्म, दोस्रोपटक वि.सं. २०८१ असार–३० गतेसम्म, तेस्रोपटक वि.सं. २०८२ असार–१५ गतेसम्म, चौथोपटक वि.सं. २८२ फागुन–१५ गते र पाँचौँपटक वि.सं. २०८३ असार–१४ गतेसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक थप गरिएको समयमा केही काम गरेपनि गत वैशाखदेखि निर्माणको काम पूर्णरुपमा ठप्प रहेको स्थानीयले बताएका छन् ।
आधारभूत अस्पताल भवन समयमा निर्माण सम्पन्न नहुनुमा स्थानीय तथा प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिहरुको पनि दोष रहेको चिसापानी बजारका स्थानीय युवा सुमन राईले आरोप लगाउनुभएको छ । “आफ्नो ठाउँमा हुने विकास निर्माणको काममा जनप्रतिनिधिको निगरानी हुनुपथ्र्यो । यहाँ कसैले चासो दिएको देखिँदैन”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले ठेकेदार कम्पनीलाई तत्काल काम नगराएको खण्डमा हामी सरोकारवाला निकाय चुप लागेर बस्दैनौँ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भइरहेको ढिलासुस्ती तथा लापरबाहीका घटनालाई सम्बन्धित निकायले बेलैमा गम्भीर भएर लिन जरुरी छ । अन्यथा चरणवद्ध आन्दोलन सुरु गर्छौँ ।”
अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाएपछि गाउँपालिकाले निर्माण गरिएका संरचना भत्काउन लगाएको थियो । बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाएपछि गाउँ कार्यपालिकाको बैठक बसेर निर्माण गरिएका संरचना भत्काएर गुणस्तरीय काम गर्न लगाएको हो ।
निर्माणाधीन अस्पतालको जगमा पिसिसि ढलान गर्न ठेकेदारले खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताउनुभएको थियो । निर्माण सुरु गरेकै दिनदेखि विवादमा रहेको आधारभूत अस्पताल भवन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनका कारण एक वर्षपछि मात्र निर्माणको काम सुरु गरिएको हो ।
गाउँपालिकाले प्रयाप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । “ठेकेदार कम्पनीलाई हामीले पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा समेत काम सम्पन्न भएन”, उहाँले भन्नुभयो, “अस्पताल भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट उपलब्ध गराइएको रकमसमेत ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।”
चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी नजिकै निर्माण सुरु गरिएको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र बनेपछि स्थानीय आक्रोशित बनेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र संरक्षणका लागि निर्माण सोही ठेकेदार कम्पनीले निर्माण गरेको पर्खाल पनि बाङ्गिएको देखिएको छ । निर्माणस्थलभन्दा माथिबाट फालिएको माटो नपन्छाइ ठेकेदार कम्पनीले बढी नाफा कमाउने दाउमा सोहीमाथि पर्खाल ठड्याएकाले बाङ्गिएको स्थानीयवासीले आरोप लगाएका छन् ।
डिपिआर परिवर्तनमा समय लाग्नु, प्रयाप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका ङ्वाङ डण्डुप लामाले बताउनुभएको छ । गाउँपालिकाले प्रयाप्त बजेको व्यवस्था तथा प्राविधिक समस्या परेको अवस्थामा सहजीकरण गरेको खण्डमा चाँडै अस्पताल भवन निर्माणको काम सम्पन्न गर्न सकिने ठेकेदार कम्पनीले जनाएको छ ।
