
खोटाङ, १४ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको जनाइएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको रु दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभएको छ ।
ठेकेदार कम्पनीले करिब पाँच महिना लगाएर स्काभेटरमार्फत ब्रेकर लगाएर चट्टान फुटाएर घर्तीभिरमा सडक पार गराइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभएको छ । घर्तीभिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले वि.सं. २०८२ माघ–११ गते भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।
दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको साप्सुखोला किनारमा रहेको घर्तीभिर फुटाएर सडक निर्माण गरेपछि असार–१३ गते (शनिबार) कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गर्नुभएको छ । “महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकखण्ड लामो छ । घर्तीभिर काटेर त्योभन्दा सिधा र छोटो सडक मार्ग खोलिएको हो”, सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवर्तमानमन्त्री राईले भन्नुभयो, “यो सडक यात्रु तथा यातायात व्यवसायी दुवैका लागि उपयोगी छ । यसको सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्नेछु ।”
बिगतमा पनि घर्तीभीरलाई काटेर छोटो दूरीको सडक बनाउने चर्चा गरिएको थियो तर, पहरा काट्न कसैले आँट गरेका थिएनन् । कोशी प्रदेश सरकार अन्तरगत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि आवश्यक बजेट विनियोजन गरेर घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।
गोरेटो बाटो सञ्चालनमा रहेको भीर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्ला आउजाउ गर्ने छोटो दूरीको सडक मार्ग खुलेको छ । सुरुमा दिक्तेलबाट महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आउजाउ गर्ने गरिएको छ ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो ।
सगरथामा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड साढे १७ किलोमिटर छोटो छ । दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टीको कच्ची सडक निर्माण गरिसकेका थियौँ । बाधकको रुपमा रहेको घर्तीभिरको ठूला चट्टानसमेत फोडेर सडक बनेपछि नियमित यातायात सञ्चालन गर्ने योजनामा छौँ ।”
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धन लगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक स्तरोन्नति गर्नेगरी पूर्वाधार विकास कार्यालय खोटाङले गत वर्ष ठेक्का लगाएको हो ।
प्रदेश सडक पुल सहयोग एकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालय खोटाङमा प्राप्त रु तीन करोड बजेटमा सोही सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुलसमेत निर्माणको काम भइरहेको छ । ठेकेदार कम्पनी पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा ठेक्का सम्झौता गरेर दिखुवाखोलामा ट्रस पुल निर्माणको काम सुरु गरेको हो ।
दिखुवाखोलामा मोटरेबल पुल निर्माणका लागि गत वर्षको जेठमै निवर्तमानमन्त्री राईले शिलान्यास गर्नुभएको थियो । ट्रस प्रयोग गरेर निर्माण गरिने मोटरेबल पुलका लागि आवश्यक स्टिल ट्रष्ट कोशी प्रदेश सडक पुल सहयोग एकाई इटहरीले आफै खरिद गरेर निर्माण कम्पनीलाई उपलब्ध गराएको छ ।
दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक करिब रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा झारिएको जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षाद्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।
कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो भएपछि जिल्लावासीसमेत उत्साहित बनेका छन् ।
