
खोटाङ, १७ असार । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहनुहुन्छ । कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आउनुभएका वडाध्यक्ष राईले व्यवसायिक मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गर्नुभएको छ ।
घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गर्नुभएका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ वटा आधुनिक घारमा मौरी छन् । जङ्गलबाट आफै आएर खोपामा बसेको मौरीलाई वडाध्यक्ष राईले व्यवसायिक रुप दिन आधुनिक घारमा सार्नुभएको हो ।
वि.सं. २०७६ सालमा ‘मौरी स्रोत केन्द्र गोदावरी’मा तालिम लिएर आधुनिक घारसमेत निर्माण गरिरहनुभएका वडाध्यक्ष राईले स्थानीय तीनजना युवालाई रोजगारीसमेत दिनुभएको छ । वडाध्यक्ष राईले रहरले सुरु गर्नुभएको मौरीपालन व्यवसायलाई आधिकारिक रुपमा दर्ता गरेर उद्योगमा विकास गर्नुभएपछि धेरैले उहाँको सिको गर्न थालेका छन् ।
वडाध्यक्ष राई बिहान ६ः०० बजेदेखि नौँ बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति नौँ बजेसम्म आफ्नै उद्योगमा काम गरिरहेको भेटिनुहुन्छ । अपरझट काम परेका व्यक्तिका लागि घरैमा बोलाएर तथा उनीहरुलाई पायक पर्ने ठाउँसम्म पुगेर वडा कार्यालयबाट प्राप्त हुने सेवासमेत दिने गर्नुभएको छ ।
आफूले आफ्नै लगानीमा स्थापना गरेर सञ्चालन गरेको डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योगमा मौरीको आधुनिक घार बिक्रीबाट मात्रै वार्षिक रु आठदेखि रु दश लाखसम्म आम्दानी हुने गरेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । “हाम्रो वडामा २७० घर स्थानीयको बसोवास छ । प्रत्येक घरका स्थानीयले मौरीपालन गरेका छन्”, उहाँले भन्नुभयो, “मौवाबोटेका सबै घर स्थानीयले मौरीपालनका लागि आधुनिक घार प्रयोग गरेका छन् । त्यो घार मेरै उद्योगबाट लगेका हुन् । एउटा आधुनिक घार रु चार हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री गर्दै आएको छु ।”
वडाका हरेक नागरिकलाई आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन राजनीतिसँगै व्यवसायिक मौरीपालन सुरु गरेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । “मौरीपालन व्यवसाय जोसुकैले गर्न सक्ने व्यवसायमा पर्छ । महिला, पुरुष, कर्मचारी, नेता तथा पत्रकार जोसुकैले मौरीपालन गर्न सक्छन्”, उहाँले भन्नुभयो, “थोरै लगानीमा सजिलोगरी धेरी आम्दानी गर्न चाहने व्यक्तिले मौरीपालन गर्दा उपयुक्त हुन्छ । यसमा श्रम र समय दुवैको बचत हुन्छ ।”
आधुनिक घारमा व्यवसायिक मौरीपालन गर्नका लागि टुनीको फ्रेम र उत्तिसको घार उपयुक्त हुने वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । आधुनिक घारमा टुनीको फ्रेम बनाउँदा लामो समयसम्म नमक्किने र मौरीले समेत बस्नका लागि रुचाउने मौरीपालक किसानहरुले बताउने गरेका छन् ।
मैवाबोटेका स्थानीयले मौरीपालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । “यहाँका किसानले कातिक–मङ्सिर र वैशाख–जेठगरी एक वर्षमा दुईपटक मह काढ्ने गरेका छन् । उत्पादित मह घरैबाट बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “एक सिजनमा एक घर किसानले ८० देखि १०० केजीसम्म मह उत्पादन गर्छन् । उत्पादित मह प्रतिकेजी रु एक हजार ५०० मा बिक्री हुन्छ ।”
वडाध्यक्ष राईसँगै मौवाबोटेका स्थानीयवासी एवम् सितोरियो कराते खेलाडी जीतबहादुर राई र जगत राईले पनि केही वर्षअघिदेखि व्यवसायिक रुपमा मौरीपालन व्यवसाय गर्नुभएको छ । सेरेना जातको एउटा धानुनिक घार मौरीबाट एक वर्षमा तीनवटासम्म नयाँ घार विस्तार गर्न सकिने मौरीपालक किसानहरुले बताएका छन् ।
वि.सं. २०४१ सालमा जन्मिएर कक्षा–१० सम्मको अध्ययन पूरा गर्नुभएका वडाध्यक्ष राईले वैदेशिक रोजगारीको सिलसिलामा विदेशी संस्कार तथा संस्कृतिको समेत अनुभव गर्नुभएको छ । दुवाई र बहराईनमा सात वर्ष रोजगारी गर्नुभएका वडाध्यक्ष राई गाउँ फर्किएर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट लगातार दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
वडाध्यक्ष राईको घरमा बुबा÷आमा, श्रीमती तथा दुई छोरी र एक छोरा छन् । जेठी छोरी यञ्जल कक्षा–९, कान्छी छोरी यस्तर कक्षा–५ र छोरा बेन्जामिन राई कक्षा–३ मा छिमेकी जिल्ला उदयपुरको बेल्टार बसेर अध्ययन गर्दै आएका छन् ।
छोराछोरीको रेखदेख वडाध्यक्ष राईकी श्रीमती सामरी राईले गर्नुहुन्छ । राजनीतिकसँगै व्यवसायिक मौरीपालन गर्नुभएका वडाध्यक्ष राईले छोराछोरीको पढाइ खर्च तथा घरव्यवहार मौरीपालनबाटै धान्दै आउनुभएको छ ।
मौवाबोटेमा व्यवसायिक मौरीपालनका लागि अहिलेसम्म स्थानीय सरकारको कुनै लगानी नरहेको किसानहरुले बताएका छन् । लेकाली भू–भाग, प्रयाप्त जङ्गल तथा उपयुक्त हावापानी भएकाले मौवाबोटेका किसानले उत्पादन गरेका घर मौरीको मह गुणस्तरीय हुने मौरीविज्ञहरुले बताएका छन् ।
