Monday, September 14

ज्यान धम्की दिएको आरोपमा एउटै घरका दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ

खोटाङ, १७ असार । बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा खोटाङमा एउटै घरका दुई दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जन्तेढुङ्गाा गाउँपालिका–५ चिसापानीस्थित खानीडाँडाका २५ वर्षीय सन्तोष राई र १८ वर्षीय सन्देश राईलाई प्रहरीले भरुवा बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।

स्थानीय ७३ वर्षीया दिलमायाँ बुढाथोकीलाई पूर्व लेनदेनको विषयमा भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको भन्ने सूचनाको आधारमा उनीहरुलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । स्थानीय जसबहादुर राईका छोराहरु सन्तोष र सन्देशले यही असार–१५ गते भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामीछानेको नेतृत्वमा खटिएको टोलीले सोही दिन पक्राउ गरेको जनाइएको छ ।

घटनापछि फरार भएका दाजुभाइलाई सोही गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पक्राउ परेका उनीहरुले आफ्नो घरदेखि करिब ४० मिटर पूर्वतर्फ उनीहरूकै बारीमा राखिएको दाउराको थुप्रोमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामको गोली फेला पारिएको जनाइएको छ ।

लुकाएर राखेको एक थान भरुवा बन्दुकसँगै खैरो रङको ब्रिलिएन्ट लेखिएको ब्यागभित्र डेल्टासाइड २८ लेखिएको सेतो डब्बाभित्र फलामको टुक्रा १४५ थान, रातो प्लाष्टिकभित्र कागजमा बेरिएको गोलो आकारको फलाम चार थान र कालो प्लाष्टिकभित्र कागजमा बेरिएको अवस्थामा सेतो रङको फलामको टुक्रा चौध थान बरामद गरिएको प्रहरीले जनाएको छ । घटना भएकै दिन पक्राउ गरेर अड्डासार गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका सन्तोष र सन्देशमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जनाइएको छ ।

अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याइएका उनीहरुमाथि बुधबार नै थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ । जिल्ला ल्याएर स्वास्थ्य परीक्षण गरिएका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।