
–रामधन राई
खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ वर्षीय उषक श्रेष्ठको क्षमता जे छन् त्यो सामान्य लाग्दैन । उषकलाई देख्ने र भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सक्दैनन् ।
छरितो कद, हँसिलो अनुहार, फुर्तिलो ज्यान, चटक्कै परेको पहिरन । जन्मजातै बोल्न र सुन्न असक्षम श्रेष्ठले यो वर्ष कक्षा–१२ उत्तीर्ण गर्नुभयो । उषकले खार्मीमै सञ्चालित कालिका माध्यमिक विद्यालयबाट अन्य विद्यार्थी सो सरह नै ‘लेक्चर मेथोड’बाट अध्ययन गर्नुभएको हो ।
कक्षा–१२ को परीक्षा भने सोही नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा दिनुभएको थियो । सानो कक्षाहरुमा कसैले चासो नदिए पनि माथिल्लो तह नै उत्तीर्ण भएपछि स्थानीयवासी चकित परेका छन् ।
बोल्न र सुन्न नै नसके पनि उषकले कसरी अध्ययन गरे होलान् भन्नेमा स्थानीयको जिज्ञासा रहन्छ । फरक क्षमताका उषकलाई अध्यापन गर्न कुनै फरक व्यवस्था र विधि नअपनाइएको विद्यालयका शिक्षक धनचन्द्र राईले जनाउनुभयो ।
उषक नियमित र अनुशासित विद्यार्थी रहेको विद्यालयले जनाएको छ । उषकले पुस्तक र शिक्षकले लेखिदिएको हेरेकै भरमा लेख्ने र लेखेकै भरमा पढ्ने र बुझ्ने अनुमान गर्ने गरिएको छ । उषक सम्भावना भएसम्म अझै पनि अध्ययन गर्ने मनसाय व्यक्त गर्नुहुन्छ ।
खेलकुद र अतिरिक्त क्रियाकलापमा अब्बल
उषकलाई खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्तिकै अब्वल र चासो छ । उषकको खेलप्रतिको मोह र कौशलता पनि उत्तिकै रहेको विद्यालयले जनाएको छ ।
उषक नगरपालिकाले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलतर्फ दुई पटक निरन्तर सहभागी हुनुभएको थियो । उषकले आफ्नो टोलीलाई ईमान्दार, सम्यमित हुँदै सामुहिक हितको लागि खेल्न उत्प्रेरित गर्नुहुन्छ ।
सङ्केतकै भरमा खेल्ने र खेलाउने उहाँ फुटबल लगायत अन्य चल्तीका खेलहरुमा पनि चासो दिनुहुन्छ । प्रायः सबै खेलहरुमा जानकारी राख्नुहुने उषक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै चासो र सहभागिता जनाउनुहुन्छ ।
उषक सबैसँग घुलमिल हुन रुचाउने, उत्सुक र मित्रवत, मिलनसार रहेको उहाँका साथीहरु वताउँछन् ।
उषकको परिवार र आर्थिक अवस्था
उषकको तीन दाजुहरुमध्ये दुई वैदेशिक रोजगारीमा र एक गाउँमै रहनुभएको छ । दाजुहरु विदेशमा भएकाले उषक हाल घरमा आमासँग बस्नुहुन्छ ।
उषकका बुबाको केही वर्ष अगाडि हत्या भएको थियो । एक साँस्कृतिक चाडको अवसरमा लागेको मेलामा उहाँको बुवाको हत्या भएको हो ।
दुई पक्षबीच भएको झगडा छुट्याउने क्रममो छुरा प्रहार भएकोमा घटनास्थलमै बुवाको मृत्यू भएको स्थानीय बताउँछन् । सामान्य खेतीपातीबाट नै उषकको घरपरिवार चल्दै आएको छ ।
भविष्यको खोजीमा उषक
कक्षा–१२ उत्तीर्ण भए पनि अब गाउँमा त्यो भन्दा अगाडि अध्ययन गर्ने अवसर छैन । माथिल्लो तह जानलाई बाहिर बस्नुपर्ने बाध्यता छ । तर, पनि उषकभित्र अथाह चाह, उत्साह र लगनशीलता छ ।
“अब उषकले आफ्नो भविष्यको खोजी गर्न थालेका छन् । तर, त्यति सजिलो भने छैन” शिक्षक धनचन्द्र लेख्नुहुन्छ, “उषकको अपाङ्गतालाई बुझेर नेपाल सरकार, सम्बन्धित निकाय, परोपकारी संस्थाहरुले उहाँको भविष्यका लागि उचित परामर्श तथा सल्लाह दिएर सहयोग गर्न हुन्थ्यो कि ?”
उषकको भविष्यका लागि परिवारसँग समन्वयात्मक भूमिका निर्वाह गर्न विद्यालय तयार रहेको शिक्षक धनचन्द्रले बताउनुभएको छ । जिल्लाका गाउँ–गाउँमा उषक जस्तै क्षमतावान, बहुप्रतिभावान, लगनशील विद्यार्थी रहेका छन् । तर, अवसर नहुँदा गुमनाम छन् । भविष्यविहीन छन् ।
