Tuesday, July 28

‘कला क्रान्ति अवार्ड’बाट दश कलाकार तथा एक सञ्चारकर्मी सम्मानित

खोटाङ, २२ असार । नगेन आर्ट एकेडेमीले खोटाङको दिक्तेलमा आयोजना गरेको मझुवागढी मूर्ति कार्याशालाको सन्दर्भ पारेर दश कलाकार तथा एक सञ्चारकर्मीलाई सम्मान गरेको छ । एकेडेमीले कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै ललितकला डायमन्ड वर्ष व्यक्तिका रुपमा गुल्मीका कलाकार भुवन थापामगरलाई सम्मान गरेको छ ।

ललितकला डायमन्ड वर्ष पुरुषका रुपमा नवलपरासीका नरबहादुर विके र ललितकला डायमन्ड वर्ष नारीका रुपमा चितवनकी इन्दिरा श्रेष्ठ (कमला)लाई जनही रु ५०÷५० हजार नगदसहित सम्मान गरिएको छ । ललितकला डायमन्ड वर्ष समिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) बागमति प्रदेश प्रमुख वासुदेव पौडेल, कला क्रान्ति वर्ष मूर्तिकारका रुपमा झापाका केडि देवान, काभ्रेकी सुष्मा श्रेष्ठ, सुनसरीका कृष्ण चौलागाई, सिन्धुलीका चित्रबहादुर थापामगर ‘सुमन’, उदयपुरका धिरज राई र सर्लाहीका गोपी श्रेष्ठलाई सम्मान गरिएको जनाइएको छ ।

यस्तै, एम.एफ. हुसैन इन्टरनेशनल अवार्डबाट भारतको कलकत्ताका सर्फुदिन अहमदलाई सम्मान गरिएको जनाइएको छ । सम्मानित कलाकार तथा पत्रकारलाई दिक्तेल रुपाकोट मजुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नेपाललाई विश्व उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअचियानका निर्देशक नकुल सिंह, विश्व कलायात्री प्राज्ञ नगेन सिंह ठकुरी लगायतले गएराति सम्मान गर्नुुभएको हो ।

दिक्तेल बजारस्थित शुभम् फाउण्डेशनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले कला क्षेत्रको समुन्नति हुनुपर्छ भन्ने सोचका साथ नगरपालिकाले कला क्षेत्रलाई प्रातमिकतामा राखेको बताउनुभएको छ । कला क्षेत्रको विकासकै लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कला सङ्ग्रहालय स्थापना, बाँस पार्क (उद्यान निर्माण) आदि संरचना निर्माण गरिरहेको जानकारी दिनुभएको छ ।

विश्वकला यात्री एवम् प्राज्ञ ठकुरीले कला क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६४ सालबाट यो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभएको छ । सम्मानित व्यक्तिहरुका तर्फबाट रासस बागमति प्रदेश प्रमुख पौडेल, कार्यक्रमका सभापति नकुल सिंह लगायतले कलाकारहरू समाजमा सम्मानपूर्वक बाँच्न पाउने किसिमका कार्यक्रमहरू राज्यको प्राथमिकतामा पर्नुुपर्ने धारणा राख्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवद्र्धनकर्ता मात्र कलाकारका लागि कलाकार’, ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दै आएको जनाइएको छ । न्यूज पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत रकम कलाकार आफैं, दश प्रतिशत पुरस्कार, दश प्रतिशत कल्याणकारी कार्यक्रम र दश प्रतिशत स्मारिकालाई प्रदान गरिने जानकारी दिनुभएको छ ।

प्राज्ञ ठकुरीले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताउनुुभयो । प्रतियोगिताका निर्णयकमा प्रोफेसर डा. सुमेरा जवाद (पाकिस्तान), दादुल चालिहा (भारत), प्रोफेसर डा. ओरहान सेब्राइलोग्लु (टर्की), रे मस्र्डेन (अष्ट्रेलिया), एनबी गुरुङ (काठमाडौँ) र प्राज्ञ ठकुरी (पोखरा) रहनुुभएको थियो ।