
खोटाङ, २२ असार । नेपालमा शिक्षित महिलाहरूले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ । शिक्षित महिलामा चेतनाको स्तर उच्च भए पनि विशेषगरी शहरी क्षेत्रका शिक्षित आमामा पूर्ण स्तनपान गराउने दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको क्रियाशील पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार ६१ प्रतिशत आधारभूत शिक्षा प्राप्त गरेका र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ । उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।
कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको दर ४७ प्रतिशत रहेको छ भने शिशु जन्मिएको छ महिनासम्म पुग्दा पूर्ण स्तनपान गराउने महिलाको दर ५३ प्रतिशतमात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तर, खोटाङको अवस्था भने तुलनात्मकरूपमा राम्रो देखिएको स्वास्थ्य कार्यालयले जनाएको ।
आर्थिक वर्ष २०८२÷८३ को तथ्याङ्कअनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र ९८ दशमलव ६५ प्रतिशत र छ महिनासम्म ७३ दशमलव ०१ प्रतिशत शिशुलाई पूर्ण स्तनपान गराएको पाइएको छ । नियमित स्तनपान गराउनेमा अधिकांश स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाहरु रहेको कार्यालयले जनाएको छ ।
नेपालमा सन् २०२२ को तथ्याङ्कअनुसार २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार दूधदानीको प्रयोग बढ्दै जानु शिशु स्वास्थ्यका लागि चुनौती बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
पूर्ण स्तनपान नगराउँदा शिशुमा झाडापखाला, श्वासप्रश्वासको सङ्क्रमण, मोटोपना लगायत समस्या देखिन सक्ने तथा आमामा स्तन क्यान्सर, डिम्बाशय (अण्डाशय) क्यान्सर र दोस्रो प्रकारको मधुमेहको जोखिम बढ्ने स्वास्थ्य कार्यालयले जनाएको छ । स्तनपान गराइएका नवजात शिशुको ७५ प्रतिशतसम्म ज्यान बचाउन सकिने आधारहरूबारे पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
नवजात शिशुलाई कम्तिमा पनि छ महिनासम्म आमाको दूध नियमित खुवाउँदा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत शिवेन्द्रप्रसाद सिंले जानकारी दिनुभएको छ । बच्चा जन्मिएलगत्तै आमाको छातीमा राख्ने, आवश्यक परे नवजात शिशु ब्युँताउने विधि अपनाउने, सङ्क्रमण समयमै पहिचान गरी उपचार गर्ने तथा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्दा मातृ तथा शिशु मृत्युदर घटाउन सकिने जनाइएको छ ।
स्तनपानको संरक्षण, प्रवद्र्धन र समर्थनका लागि नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन, ७५३ वटै स्थानीय तह तथा सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना, स्वास्थ्यकर्मीलाई तालिम, नियमित परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली कार्यान्वयनका लागि औषधि व्यवसायी, पत्रकार तथा अस्पताल एवम् मेडिकल कलेजका विद्यार्थीहरूसँग बहस तथा पैरवीसमेत भइरहेको जानकारी दिइएको छ ।
उत्पादक वा वितरकबाट आर्थिक वा भौतिक उपहार स्वीकार गर्ने, उत्पादनको नमूना वितरण गर्ने वा कुनै उत्पादनको प्रवद्र्धन गर्ने स्वास्थ्यकर्मीलाई एक हजारसम्म जरिबाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । त्यस्तै, बिना प्रमाणीकरण उत्पादन वा पैठारी गर्ने तथा लेवलसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई रु १५ हजारसम्म जरिबाना, चार महिनासम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीकाअनुसार स्तनपानको अभ्यासमा सुधार ल्याउन सके वार्षिक रूपमा विश्वभर करिब आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । अपर्याप्त स्तनपानका कारण हरेक वर्ष करिब छ लाख बालबालिका र एक लाख महिलाको मृत्यु हुने गरेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
्
नवजात शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरी पहिलो छ महिनासम्म आमाको दूधमात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । विश्वव्यापी रूपमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको व्यापार सन् २०१४ मा करिब रु ४५ खर्ब रहेकोमा सन् २०१९ मा बढेर रु ७२ खर्ब पुगेको जनाइएको छ ।
