
खोटाङ, १ साउन । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्ष साढे तीन हजार केजी आलु फलाएको छ । गाउँपालिकाले सञ्चालन गरेको आलु खेती प्रवद्र्धन कार्यक्रमअन्तरगत वडा नं. ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा आलु खेती लगाइएको थियो ।
बाँझो जमिन उपयोगमा ल्याएर उत्पादन गरिएको आलुलाई भण्डारण गरेर विक्रीवितरणको व्यवस्था मिलाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी रु ६० का दरले बिक्री सुरु गरिएको जनाइएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएका आलुमध्ये एक हजार २७० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईले जानकारी दिनुभएको छ । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक श्रोतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले गत वर्षदेखि आलु तथा तिते फापर प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । भञ्ज्याङखर्कमा रहेको करिब ६० रोपनी सार्वजनिक जग्गामा गाउँपालिकाले आलु तथा फापर खेती गर्दै आएको छ ।
गाउँपालिकाभित्र रहेका बाँझो जमिन उपयोगमा ल्याउने गाउँपालिकाको नीतिअनुसार गत वर्ष पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको थियो । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तरगत उत्पादित तिते फापर प्रतिकेजी रु ८० मा बिक्री गर्नेगरी सूचना जारी गरिएको छ ।
स्थानीय राजस्व परामर्श समितिको निर्णयअनुसार गाउँपालिकाले उत्पादन गरेको आलु र तिते फापरको मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईले जानकारी दिनुभएको छ । समितिको बैठकले ५० केजीभन्दा बढी आलु खरिद गर्ने ग्राहकका लागि प्रति केजी रु दुईका दरले छुट दिनेसमेत निर्णय गरेको छ ।
गाउँपालिकाले सञ्चाल गरेको बाँझो जमिन उपयोगमा ल्याउने कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यो प्रभावकारी बन्दै गएको छ । तिते फापर लोप हुने अवस्थामा छ । यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि कोसेली घर स्थापना गरिएको छ । चिसापानी बजारमा स्थापना गरिएको कोसेली घरमा किसानले उत्पादन गरेका रैथाने बाली खरिदगरी भण्डारण गरेर बजारसम्म पु¥याउने काम गाउँपालिकाले गर्छ ।”
छिमेकी जिल्ला भोजपुरको सीमानामा पर्ने भञ्ज्याङखर्कमा यस वर्ष पनि तिते फापर खेती गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले तिते फापर खेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाउने गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका नागरिकलाई व्यवसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । आफूले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले उचित मूल्यमा खरिद गरेर बिक्री गर्ने नीति ल्याएपछि किसानहरुसमेत उत्साहित बनेका छन् ।
