
खोटाङ, ३१ असार । साकेला गाउँपालिका–४ मात्तिमस्थित पारुङमा एकाघरको दाजुभाइबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेको अवस्थामा तीन दिनअघि ४८ वर्षीय ईमानसिंह राई, ३५ वर्षीय ओईमानसिंह राई र ३० वर्षीय जीवन राई ‘टीकाबहादुर’बीच भएको झगडामा धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते बनेका ओईमानसिंह राईको मृत्यु भएको हो ।
असार–२९ गते राति मादक पदार्थ सेवन गरेको अवस्थामा घरायसी विवाद हुँदा आफ्नै दाजु ईमानसिंह तथा भाइ जीवनबाट ओईमानसिंहको टाउको र पेटमा खकुरी प्रहार भएको खुलेको प्रहरीले जानकारी दिएको छ । आपसी झगडामा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका ओईमानसिंहलाई असार–३० गते बिहान उपचारका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो ।
अस्पताल ल्याएर उपचारका लागि भर्ना गरिएका ओईमानसिंहलाई अस्पतालले केही समयपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा दाजु ईमानसिंह र भाइ जीवन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना लगत्तै पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा आज (बिहीबार) मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ओईमानसिंहको हत्या आरोपित दाजु ईमानसिंह र भाइ जीवन राईमाथि छानबिन गर्न जिल्ला अदालत खोटाङबाट बिहीबार सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
दाजुभाइ मिलेर प्रहार गरेको खुकरीले ज्यना गुमाएका ओईमानसिंहको शव बिहीबार परीक्षण गरेर अन्त्यष्टीका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दाजुभाइबीचको आपसी झगडामा एक जनाको मृत्यु भएपछि राई परिवारमा शिखण्डन सिर्जना भएको छिमेकीहरुले बताएका छन् ।
