Friday, July 31

श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका बुइपाका वडाध्यक्ष दिनेश राई पदमुक्त

खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई पद मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका वडाध्यक्ष राईको पद निर्वाचन आयोगले स्वतः रिक्त भएको घोषणा गरेको हो ।

निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम वडाध्यक्ष राईको पद रिक्त भएको जनाएको छ । एमाले केन्द्रीय सचिवालयले वडाध्यक्ष राईले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त निर्णय गरेको हो ।

वडाध्यक्ष राई असार–७ गते एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । वडाध्यक्ष राई वि.सं. २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दुईपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

दल परिवर्तनमा संलग्न भएको पुष्टि भएपछि आयोगले कानूनी प्रावधानअनुसार वडाध्यक्ष राईको पद रिक्त गरेको स्पष्ट पारेको छ । यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा वडाध्यक्ष पद खाली भएको छ ।

यसैबीच, खोटेहाङ गाउँपालिका–४ बडकादियालेका वडासदस्य प्रदीप आचार्यको समेत पद रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ । एमालेबाट निर्वाचित सदस्य आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि आयोगले पद मुक्त गरेको हो ।