Friday, July 31

‘मनोज प्रतिभा पुरस्कार–२०८३’ उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई

खोटाङ, १५ साउन । मनोज स्मृति प्रतिष्ठान खोटाङले उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई ‘मनोज प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरेको छ । शहीद मनोज जोशी हत्यकाण्ड भएको ३५ वर्ष पूरा भएको अवसर पारेर साउन–१५ गते फुयाँललाई नगद रु दश हजार राशीको मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेको बखत प्रहरीको गोली लागेर ज्यान गुमाउनुभएका मनोज जोशीको नाममा स्थापना गरिएको पुरस्कार यस वर्ष फुयाँललाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभएको छ । पुरस्कृत फुयाँल मोरङ सुन्दरहरैचा निवासी हुनुहुन्छ ।

वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएवापत जागिरबाट हटाइएका फुयाँललाई खोटाङमा बोलाएर पुरस्कार प्रदान गरिएकोआयोजकले जनाएको छ । फुयाँल लेखापालमा काम गरिरहेको बेला बरखास्तीमा पर्नुभएको थियो ।

वि.सं. २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको क्याविनेटबाट सबैको जागीर पुनः वहाली भएको थियो तर फुयाँलले त्यस अगावै अधिकृतमा नाम निकालिसक्नुभएको थियो । यस्तै, प्रतिष्ठानले शहीद परिवार एवम् जग्गादाता समुद्रप्रसाद जोशी, अवकाश प्राप्त कर्मचारीहरु मोहनकुमार राउत, थीरबहादुर कार्की, कृष्ण गिरी र कृष्ण परियारलाई सम्मान गरेको छ ।

जिल्ला अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री पाँचकर्ण राई, राजन राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा ऐक्यवद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जाँदैगरेको जुलुसमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरुले बताउदै आएका छन् । शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा कविता प्रतियोगीता, स्नुकर प्रतियोगीता, बिरामीलाई फलफूल वितरण लगातयका कार्यक्रम गरिएको थियो ।