
खोटाङ, २९ साउन । ट्याक्टरमा गोलिया काठ लोड (चढाउने काम) गर्नेक्रममा सोही काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचेर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
पूर्वी तराईका जिल्ला निकासीका लागि गोलिया काठ बोकेर हिँडेको ट्याक्टर सडकमै पल्टिएपछि खसेको काठ उठाएर पुनः लोड गर्नेक्रममा मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गरेर डोरीले बाँध्नेक्रममा चिप्लिएर गोलियासँगै लडेका मगरलाई काठले किचेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।
गोलिया काठ बोकेर फोक्सिङटारतर्फ हिँडेको ट्याक्टर शुक्रबार बिहान करिब ४ः ०० बजे भएको दुर्घटनामा ज्यान गुमाएका मगरको शव आफन्त नआएसम्मका लागि सुरक्षित गर्न घटनास्थलमै राखिएको प्रहरीले जनाएको छ । घटनापछि ट्याक्टरसहित ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाडाँडाका १९ वर्षीय सुनिल गुरुङलाई स्थानीय प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षक नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । घटनास्थल सदरमुकाम दिक्तेलबाट टाढा भएकाले ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
