Friday, September 11

अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

खोटाङ, ९ भदौ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिस प्रजातिको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको उत्तिसको गोलिया काठ कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।

गोलिया काठ व्यवसायीले सार्वजनिकस्थलको रुख कटान गरेर अवैधानिकरुपमा निकासी गर्न लागेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा निरीक्षण गर्दा त्यस्तै देखिएपछि गोलिया काठ बरामद गरिएको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभएको छ । “साप्सुखोला किनारमा छरपस्ट रहेका उत्तिस प्रजातिका गोलिका काठ मेरो हो भनेर दाबी गर्न अहिलेसम्म कोही आएका छैनन् । काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”

साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनहरुका रुखहरु कटान गरेर खोलामा गोलिया काठहरु बगाउँदै ल्याएर मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडाहरु जम्मा गरिएको पाइएको थियो । अवैधरुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडाहरु खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए ।

अवैधानिकरुपमा उत्तिसको रुख कठान गरेर गोलिया काठ निकासी गरिरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा वन कार्यालयका कर्मचारी निरीक्षण गर्न घटनास्थल पुग्दा रुख काट्नेहरु बेपत्ता भएको जनाइएको छ । काठ व्यवसायी तथा रुख काट्ने कामदार बेपत्ता भएपछि सवडिभिजन वन कार्यालय दिक्तेलका कर्मचारीहरुले भदौ–७, ८ र ९ गते तीन दिन लगाएर सबै काठ गाडीमा चढाएर वन कार्यालयमा ल्याएका छन् ।

बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले रुख कटान गरेर निकासी गर्न लागेको देखिएको डिभिजन प्रमुख राईले जानकारी दिनुभएको छ । “साप्सुखोला वरिपरिका केही उत्तिसका रुखहरु काटिएको देखिएको छ । केही पहिरोमा लडेका रुखहरु काटिएको देखिएको छ । अन्य रुखहरु कहाँ काटिएको हो भनेर अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “घटनाको बारेमा सबै कुरा खुलेको छैन । यथार्थ विवरण आएपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ । अहिले बरामद गरिएका गोलिया काठ व्यवस्थापनमा ध्यान दिएका छौँ ।”

वन ऐन २०७६ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिस लगायत नेपाल सरकारले निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानूनी व्यवस्था छ । निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरेपनि व्यवसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनो लगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ । जिल्लामा सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका स्थानीय जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्ला गोलिया काठ निकासी गरेर राम्रो कमाइ गरिरहेका छन् ।

जिल्लाबाट पूर्वी तराई निकासी हुने अधिकांश गोलिया काठमा व्यापक मात्रामा राजस्व छली हुने गरेको समाचार स्रोतको दाबी छ । काठ व्यवसायीले वन कार्यालयकै कर्मचारीसँगको मितेमतोमा बढी गोलिया काठलाई कागजी प्रक्रियामा थोरै देखाएर राजस्व छली गर्ने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।