Friday, September 11

दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउन अभियान

खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकालाई सफा, सुन्दर र सभ्य बनाउन तीन महिने अभियान सुरु गरिएको हो ।

विद्यालयस्तरबाट सुरु भएको वातावरणीय चेतना र सिकाइ अभियानलाई घर, टोल, बजार तथा समुदायस्तरसम्म विस्तार गर्ने योजना रहेको नगरपालिकाका उप्रमुख विशन राईले जानकारी दिनुभएको छ । जिल्लाको सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) यो नगरपालिकाले अभियानको पहिलो चरणको अभियान गत साउन–१८ गते कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

पहिलो चरणमा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयलाई प्रमुख साझेदार बनाएर विद्यालयस्तरीय १५ दिने अभिमुखीकरण अभियान सञ्चालन गरिएको थियो । गत साउन–१८ गतेबाट सुरु भएको अभियानमा प्लास्टिक तथा सिसाजन्य फोहर न्यूनीकरण, वातावरण संरक्षण, सरसफाइ तथा व्यवहार परिवर्तनसम्बन्धी अभिमुखीकरण एवम् सचेतनामूलक कार्यक्रम भदौ–२ गतेसम्म सञ्चालन भएको थियो ।

नगरपालिकाले सञ्चालन गरेको पहिलो चरणको अभियानका क्रममा करिब एक हजार ६०० विद्यार्थी, २०० शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि प्रत्यक्ष रूपमा जोडिएको जनाइएको छ । विद्यालयमा अभिमुखीकरणसँगै सरसफाइ, प्लास्टिक तथा सिसाजन्य फोहर सङ्कलन तथा वर्गीकरण, नैतिक प्रतिबद्धता र अभिलेखीकरणका कामसमेत सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।

सङ्घीय तथा प्रदेश सरकार, निजी तथा साझेदारी संस्थाहरुसँगको सहकार्यमा नगरपालिकाले सुरु गरेको अभियानका क्रममा हरित विद्यार्थी समूह गठन तथा परिचालनको सुरुवात गरिएको थियो । विद्यालयमा प्राप्त वातावरणीय ज्ञान र व्यवहारलाई घर, टोल तथा सार्वजनिकस्थलसम्म विस्तार गर्ने आधारसमेत तयार गरेको जनाइएको छ ।

सार्वजनिकस्थललाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउने, फोहोर नफाल्ने र नजलाउने संस्कारको विकास गर्ने, पुनः प्रयोग तथा पुनर्चक्रणको अभ्यास बढाउने तथा नागरिक सहभागितामार्फत अभियानलाई समुदायस्तरको साझा अभियान बनाउने लक्ष्य लिएको छ । यस्तै, प्रत्येक घरमा प्लास्टिक तथा सिसाजन्य फोहरको प्रयोग घटाउन प्रेरित गर्ने, घरबाटै जैविक, प्लास्टिक, सिसा तथा अन्य फोहर छुट्याउने अभ्यास सुरु गर्ने, कपडाको झोलालगायत वातावरणमैत्री वैकल्पिक सामग्रीको प्रयोग बढाउन उत्प्रेरित गर्ने तथा सार्वजनिकस्थल, सडक, नदीकिनार, विद्यालय परिसर र समुदायमा नियमित सरसफाइको संस्कार विकास गर्न पहल गर्ने रहेका छन् ।

प्लास्टिकजन्य फोहर जलाउने प्रवृत्तिमा कमी ल्याउने, विद्यार्थीको नेतृत्वमा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्ने, फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा उचित व्यवस्थापनलाई स्थानीय अभ्यासका रूपमा विकास गर्ने र नागरिकमा “मेरो फोहोर, मेरो जिम्मेवारी” भन्ने भावना विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालयका हरित विद्यार्थी समूहलाई थप सक्रिय बनाउँदै नगर क्षेत्रमा एक हजारभन्दा बढी विद्यार्थीलाई हरित विद्यार्थी दूतका रूपमा विकास गरी परिचयपत्र प्रदान गरिने जनाइएको छ ।

नगरपालिकाले गठन गरेको हरित विद्यार्थी दूतले आफ्नो घर, टोल र समुदायमा प्लास्टिक तथा सिसाजन्य फोहरको प्रयोग घटाउन, जथाभावी नफाल्न, नजलाउन, फोहोर वर्गीकरण गर्न तथा वातावरण संरक्षणका लागि परिवार र समुदायलाई प्रेरित गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “विद्यालयले विद्यार्थीको दैनिक पढाइलाई मध्यनजर गर्दै अभियानसम्बन्धी कार्यतालिका बनाउनेछन् । यसबाट विद्यार्थीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा वातावरणीय चेतना विकास गर्ने अवसर सिर्जना हुन्छ”, उहाँले भन्नुभयो, “प्लास्टिक तथा सिसाजन्य फोहरको प्रयोग न्यूनीकरणका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीका परियोजना कार्यलाई अभियानसँग जोड्ने, अभियानको प्रभाव र उपलब्धिको नियमित समीक्षा तथा अनुगमन गर्छौँ । आवश्यकतानुसार सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, विद्यालय, सञ्चारमाध्यम तथा नागरिक समाजसँग सहकार्य गर्ने योजना बनाइएको छ ।”

नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विद्यालय तथा समुदायमा प्लास्टिक, सिसा, जैविक तथा अन्य फोहर छुट्याएर व्यवस्थापन गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ । नगरपालिकाले सुरु गरेको तीन महिने अभियानमा नागरवासी नागरिक स्वतःस्फूर्तरुपमा सहभागी भएका छन् ।