Friday, September 11

टिमुरे बजार ध्वस्त, सयौँ उद्वारको पर्खाइमा, कति बेपत्ता भए छैन हिसाब

खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार ध्वस्त बनाएको छ । गोसाईकुण्ड गाउँपालिका–२ को सदस्य पेमा दोर्जेका अनुसार टिमुरे बजार पूरै ध्वस्त भएको छ । त्यसमा कति जना बेपत्ता भए भन्ने यकिन नै छैन । साथै सयौँ उद्वारको पर्खाइमा बसेको उहाँले जानकारी दिनुभएको छ ।

“बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन”, उहाँले भन्नुभयो, “बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन । टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।”

उहाँले थप्नुभयो, “हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने केही छैन । बगेको पानी खाएर बसेका छौं ।”

उहाँले फेरि भन्नुभयो, “हामी उद्दारको पर्खाइमा छौं । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन । म गोसाईकुण्ड गाउँपालिका–२ को सदस्य पेमा दोर्जे घले हुँ । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।”