
खोटाङ, २० भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका हुन् ।
स्थानीयले भेटेका बमलाई भोलि (सोमबार) बिहानमात्रै निष्किृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ । साँझ बम भेटिएकाले सोही स्थानमै सुरक्षित रूपमा राखिएको र आज रातभर नेपाल प्रहरीले सुरक्षा दिने जनाइएको छ ।
द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।
बेवारिसे अवस्थामा भेटिएको बम निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्र नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ । दलितवस्ती रहेको बेसक्याम्पमा बम भेटिएपछि स्थानीय आतङ्कित बनेका छन् ।
बेसक्याम्प आसपारमा यसअघि पनि पटक–पटक बम फेला पर्ने गरेको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र द्धन्द्धको समयमा बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो ।
बेसक्याम्पमा पटक–पटक फेला पर्ने बम सोही बेला सुरक्षा फौजले छाडेको अनुमान गरिएको छ । व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प सरेर अन्यत्र गएपछि स्थानीयले खेतीपातीका काम गर्दा बम फेला पार्ने गरेका हुन् ।
