
खोटाङ, २२ भदौ । दिक्तेल बजारमा आइतबार साँझ फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ (बम) नेपाली सेनाको बम डिस्पोजल टोलीले आज (सोमबार) निस्कृय पारेको छ । बेवारिसे अवस्थामा स्थानीयले भेटेका बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोल टोलीले सोमबार बिहान साढे दश बजो निस्कृय पारेको हो ।
बेसक्याम्पस्थित तारा सुन्दासको बारीमा सुगुरको खोर बनाउन स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका थिए । बेवारिसे अवस्थामा भेटिएको बम नेपाल प्रहरीले सोही स्थानमै रातभर सुरक्षित राखेर आज बिहान मात्रै निस्कृय गरिएको गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ ।
दिक्तेल बजारको मध्येभागमा पर्ने बेसक्याम्पमा नेपालमा भएको दश वर्षे द्वन्द्वकालका बेला सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले आफ्नो सुरक्षाका लागि बेसक्याम्पमा विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र द्धन्द्धको समयमा बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो । सुरक्षा फौज अन्यत्र सारिएपछि बेसक्याम्प आसपारमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ बम फेला पर्ने गरेको थियो ।
व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प सरेर अन्यत्र गएपछि स्थानीयले खेतीपातीका काम गर्दा बम फेला पार्ने गरेका छन् । बेसक्याम्पमा पटक–पटक अलपत्र छाडिएको अवस्थामा बम फेला पर्दा आफूहरुलाई जोखिम बढेको स्थानीयले बताएका छन् ।
