
खोटाङ, ३ असोज । खोटाङको दिक्तेल बजारमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ मनाइएको छ । नेपालको संविधान २०७२ असोज–३ गते संविधानसभाबाट राष्ट्रपतिले जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज–३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
संविधान दिवस जिल्ला समारोह समिति खोटाङको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा दिक्तेल बजारमा प्रभातफेरीलगायतका कार्यक्रम राखिएको थियो । जिल्ला प्रशासन कार्यालय खोटाङको संयोजनमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
असोज–२ गते जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा दिनेश तामाङ र रेनुका राई प्रथम भएका छन् । प्रथम हुने उनीहरूले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, डिएम चाम्लिङ राई र धनञ्जय राईको समूह द्वितीय भएको छ । द्वितीय हुने समूहले नगद रु नौँ ९ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ज्ञानेन्द्र जोशी र विनोद गजमेर तथा पूजन आचार्य र कल्पना राईको समूह सेमिफाइनलिस्ट भएका छन् । दुवै समूहले नगद रु ४÷४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी, असोज–२ गते ‘नेपालको संविधान, दायित्व’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, दिक्तेलकी छात्रा नम्रता दाहाल प्रथम भएकी छन् । दाहालले नगद रु ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
देउराली माध्यमिक विद्यालय, डुम्रेकी एलीना पोखरेल द्वितीय, राम्चेनिकेतन माध्यमिक विद्यालयका इसानदीप लम्साल तृतीय र श्री माध्यमिक विद्यालय मझुवा बाँस्बोटे, लफ्याङकी कविता श्रेष्ठ सान्त्वना भएकी छन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
ब्याडमिन्टन प्रतियोगिता केपिलासगढी गाउँपालिका र उद्योग वाणिज्य सङ्घ खोटाङको आर्थिक सहयोगमा आयोजना गरिएको आयोजकले जनाएको छ । वक्तृत्वकला प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।
यस्तै, संविधान दिवसको मुख्य दिन आज (असोज–३ गते) दिक्तेल बजारमा प्रभातफेरी निकालिएको छ । प्रभातफेरीपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तीनै तहका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । जिल्लाका स्थानीय तहहरुले समेत आ–आफ्नो ठाउँमा विविध कार्यक्रम गर्दै संविधान दिवस मनाइरहेका छन् ।
