Friday, September 18

दुर्घटनामा गम्भीर घाइते क्षेत्रीय भलिबल खेलाडी हिरोनद्धारा उपचारमा सहयोगको अपिल

खोटाङ, २ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका क्षेत्रीय भलिबल खेलाडी हिरोन माझीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका २१ वर्षीय हिरोनले उपचारमा आर्थिक अभाव भएपछि थप आर्थिक सहयोगका लागि आफन्त तथा शुभेच्छुकसँग अपिल गर्नुभएको हो ।

सडक दुर्घटना भएपछि लामो समयदेखि उपचार गराउँदै आउनुभएका हिरोनको हाल विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको परिवारले जनाएको छ । दुर्घटनामा टाउकोमा समेत गम्भीर चोट लागेकाले अझै थप उपचार तथा टाउकोको अप्रेसन (शल्यक्रिया) गर्नुपर्ने अवस्था रहेको हिरोनले बताउनुभएको छ ।

बुबा उमेशकुमार माझी र आमा रेखा माझीका छोरा हिरोन करिब दश महिनाअघि गाईघाटबाट नेपालटार जानेक्रममा चुवाडेमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा हिरोनको हात र खुट्टा भाँचिनुका साथै टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

शुभेच्छुकबाट प्राप्त सहयोगका कारण करिब ७० प्रतिशतसम्म सुधार भएको महसुस गरेको हिरोनले बताउनुभएको छ । “उपचारका क्रममा सहयोग गर्ने सबै सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि उपचारका लागि सहयोग गरिदिन अनुरोध छ”, उहाँले भन्नुभयो, “सबैको सानो–सानो सहयोगले आफ्नो उपचार सम्भव हुने विश्वास गरेको छु । देश तथा विदेशमा रहनुभएका नेपाली, आफन्त, साथीभाइ तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।”

उपचारका क्रममा अहिलेसम्म ठूलो रकम खर्च भइसकेको र आगामी उपचारका लागि करिब रु चार लाखसम्म खर्च लाग्ने भएकाले परिवार आर्थिक समस्यामा परेको जनाइएको छ । विारटनगरमा लामो समयदेखि बसेर उपचार गराउँदै आउनुभएका हिरोनले यसअघि विभिन्न व्यक्ति, शुभेच्छुक तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगले उपचारमा ठूलो राहत लिमेको बताउनुभएको छ ।

सडक दुर्घटना भएपछि छोराको उपचारमा परिवारले निरन्तर खर्च गर्दै आए पनि लामो समयसम्म उपचार गर्नुपर्ने र टाउकोको अप्रेसनका लागि थप रकम आवश्यक पर्ने भएकाले सहयोगको अपिल गरिएको बुबा उमेशकुमारले बताउनुभएको छ । “हिरोन खोटाङ जिल्लाको क्षेत्रीय भलिबल खेलाडीसमेत हुनुहुन्छ । सबैको साथ, सहयोग र सद्भावबाट बाँकी उपचार पूरा गरी हिरोनलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “हिरोन विभिन्न क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागी हुँदै आउनुभएको थियो । दुर्घटनाका कारण लामो समयदेखि उपचारमा रहनुपरेपछि खेल गतिविधिसमेत प्रभावित भएको छ ।”

हिरोनको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले ९७०३२०७७९७ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् । परिवारले आफ्नो अवस्थालाई बुझेर उपचारमा सक्दो सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।