Saturday, September 19

संविधान दिवसमा साकेलाको सन्देश : जनश्रमदानमार्फत सार्वजनिक सम्पत्तिको संरक्षण

खोटाङ, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहँदा खोटाङको साकेला गाउँपालिकाले भने, जनश्रमदानमार्फत सार्वजनिक सडकको सरसफाइ तथा मर्मत गर्दै दिवस मनाएको छ । सार्वजनिक बिदाको अवसर पारेर साकेला गाउँपालिका–५ मात्तिमबिर्ताको संयोजन तथा गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डअन्तरगत देउरालीदेखि सरस्वती माध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर सडकमा सरसफाइ तथा मर्मत गरिएको हो ।

गाउँपालिकाले सञ्चालन गरिरहेको ‘साकेला श्रम अभियान’लाई निरन्तरता दिँदै आयोजना गरिएको जनश्रमदानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो । वर्षाद्को पानीले सडकमा पहिरो तथा झाडी हटाउने, नाली तथा सडक किनार सफा गर्ने र आवतजावतमा समस्या हुने स्थानमा आवश्यक मर्मत जनश्रमदानबाट गरिएको हो ।

संविधान दिवसलाई केवल औपचारिक कार्यक्रम र शुभकामनामा सीमित नराखी सार्वजनिक हित र सामूहिक जिम्मेवारीसँग जोडेर मनाउने प्रयास गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ । सार्वजनिक बिदाको दिनलाई समेत विकास, सरसफाइ र सामाजिक उत्तरदायित्वका काममा उपयोग गर्दै गाउँपालिकाले स्थानीयस्तरमा श्रम संस्कृतिको विकास गर्न खोजेको हो ।

संविधानले दिएको अधिकार र जिम्मेवारीलाई व्यवहारमा उतार्दै नागरिकको सहभागितामा विकास र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान आवश्यक रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । “संविधान दिवस केवल झण्डा फहराउने, शुभकामना आदानप्रदान गर्ने र औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन। संविधानले नागरिकलाई अधिकारसँगै आफ्नो समाज, गाउँ र सार्वजनिक सम्पत्तिप्रति जिम्मेवार बन्ने अवसर र दायित्व पनि दिएको छ,” उहाँले भन्नुभयो, “श्रमलाई सानो वा ठूलो भनेर विभाजन गर्नु हुँदैन । जनप्रतिनिधि, कर्मचारी र नागरिक एउटै ठाउँमा उभिएर आफ्नो गाउँको बाटो सफा गर्दा त्यसले विकाससँगै एकता, अपनत्व र जिम्मेवारीको भावना निर्माण गर्छ ।”

‘साकेला श्रम अभियान’लाई कुनै एक दिनको कार्यक्रमका रूपमा नभइ गाउँको विकास र सार्वजनिक सम्पत्तिको संरक्षणमा नागरिकको स्वतः स्फूर्त सहभागिता बढाउने दीर्घकालीन अभियानका रूपमा अघि बढाउन खोजिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । “सरकारले मात्र विकास गर्ने होइन, नागरिकको सहभागिताबिना दिगो विकास सम्भव हुँदैन । हाम्रो श्रमले आज एउटा सडक सफा होला, तर त्यसबाट उत्पन्न हुने चेतना र अपनत्वले भोलि सिंगो गाउँ सफा, व्यवस्थित र समृद्ध बनाउन मद्दत गर्छ,” उहाँले भन्नुभयो, “हामीले भाषणभन्दा श्रमलाई, आश्वासनभन्दा परिणामलाई र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ ।”

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक साकेला गाउँपालिकाको महत्वपूर्ण सडक सञ्जालका रूपमा हेरिएको छ। सडकको नियमित सरसफाइ, संरक्षण तथा आवश्यक मर्मतसम्भारले स्थानीय नागरिकको दैनिक आवतजावत सहज हुनुका साथै सार्वजनिक सेवामा पहुँचलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ । स्थानीय नागरिक, जनप्रतिनिधि र कर्मचारीहरू एउटै उद्देश्यका साथ श्रममा जुट्दा ‘सार्वजनिक काम सरकारको मात्र होइन, सबैको साझा जिम्मेवारी हो’ भन्ने सन्देश प्रवाह भएको जनश्रमदानका सहभागीहरूले बताएका छन् ।

संविधान दिवसको अवसरमा गरिएको यस प्रकारको जनश्रमदानले दिवसको औपचारिक उत्सवलाई व्यवहारिक सामाजिक अभियानसँग जोडेको सहभागीले बताएका छन् । गाउँपालिकाले सञ्चालन गरेको अभियानले साकेलामा श्रम, सहभागिता र सामूहिक जिम्मेवारीको संस्कार विकास गर्ने प्रयासलाई थप बल पुगेको देखिएको छ ।