
खोटाङ, ५ असोज । मृगौला रोगबाट ग्रसित बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित राछालुङकी ४३ वर्षीया गङ्गाकुमारी पूर्वछानेमगरको उपचारका लागि रु नौँ लाखबढी आर्थिक सहयोग उपलब्ध गराइएको छ । दुवै मृगौला काम नलाग्ने भएर समस्यामा पर्नुभएकी गङ्गाकुमारीको उपचारका लागि देश तथा विदेशमा रहनुभएका सामाजिक अभियान्ताहरुको सहकार्यमा रु नौँ लाख छ हजार ६३९ आर्थिक सहयोग सङ्कलन गरेर उपचार खर्च उपलब्ध गराइएको हो ।
कमजोर आर्थिक अवस्थाकी गङ्गाकुमारीको उपचारका लागि करिब चार महिना सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानका क्रममा स्वदेश तथा विदेशमा रहनुभएका ३१९ जना दाताबाट सहयोग जुटेको भाइ इन्द्रबहादुर लिमेलमगरले जानकारी दिनुभएको छ । “दिदीको उपचारमा रु १५ लाखभन्दा बढी खर्च भइसक्यो । अहिले हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । एकपटकमा रु सात हजार खर्च हुन्छ”, उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएकाले अभियान सञ्चालन गर्न बाध्य भयौँ । अभियानका क्रममा रु नौँ लाख छ हजार ६३९ उपचार खर्च जुटेको छ । अझै कति खर्च लाग्छ यकिन छैन ।”
देश तथा विदेशमा रहेका अभियान्ताहरुले अभियान सञ्चालन गर्दा जम्मा भएको आर्थिक सहयोग रकमको चेक मृगौलापीडित गङ्गाकुमारीलाई हस्तान्तरण गरेका छन् । समाजका उपाध्यक्ष दिपेन बस्नेत, कोषाध्यक्ष चन्द्रकला राई र सदस्य तारानाथ श्रेष्ठ ‘उमेश’ले मृगौलापीडित गङ्गाकुमारीलाई सङ्कलित रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
चार छोरीकी आमा गङ्गाकुमारीको लागि उपचार खर्च जुटेपछि भाइ इन्द्रबहादुरले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने केदार आलेमगर, अर्जुन थापामगर ‘मानबहादुर’, रामकुमार राई, प्रकाश बन्जारा ‘सहयात्री’, अनिल राई, ध्यानकुमार पुमा राई, पुकल श्रेष्ठ, अशोक माले, प्रकाश खपाङ्गीमगर, मगेन्द्र आलेमगर, सन्देश मगर, दीपक मगर लगायतलाई धन्यवाद दिनुभएको छ । यस्तै, सुन्तले बचत कोष टिम कुबेत र बाराहापोखरी सेवा समाज खोटाङ काठमाडौँ परिवारलाई पनि धन्यवाद दिनुभएको छ ।
घरको कमजोर आर्थिक अवस्थाका डम्बर पूर्वछानेमगरसँग विवाह गर्नुभएकी मृगौलापीडित गङ्गाकुमारीको अहिले किष्ट अस्पताल काठमाडौँमा डायलासिस भइरहेको पारिवारिक स्रोतले जनाएको छ । विगतदेखि नै मुटु, प्रेसर र सुगरको रोगी रहनुभएकी गङ्गाकुमारीको यसअघि वीर अस्पताल काठमाडौँमा सफल उपचार गरिएको थियो ।
सुरुमा देखिएका सबै स्वास्थ्य समस्यामा सुधार आएपछि गङ्गाकुमारीलाई घर फर्काइएको जनाइएको छ । तर, दुईमहिना नबित्दै गत वैशाख–२३ गते अचानक बेहोस बनेर ढलेपछि बेलका नगर अस्पताल हुँदै बिराट मेडिकल कलेज पु¥याउँदा दुवै मृगौला काम नलाग्ने भएको पत्ता लागेको भाइ इन्द्रबहादुरले जानकारी दिनुभएको छ ।
छोरीहरुको पढाइका लागि छिमेकी जिल्ला उदयपुरको बेलका नगरपालिका–३ एबिसी टप्पुमा बस्दै आएका मगर परिवार गङ्गाकुमारीको स्वास्थ्यमा समस्या आएपछि कोठा भाडामा लिएर परिवारसहित ललितपुर बस्दै आउनुभएको छ । ललितपुरस्थित इमाडोल बस्दै आउनुभएका मगर परिवारका घरमुली गङ्गाकुमारीको स्वास्थ्यमा जटिल समस्या आइपरेपछि छोरीहरुको पढाइसमेत प्रभावित भएको जनाइएको छ ।
