Tuesday, September 22

सेखुवाका नागरिकलाई आफ्नै गाउँमा सेवा दिन स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना

खोटाङ, ५ असोज । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाई साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्वास्थ्य सेवा इकाईबाट सेवा प्रवाहको शुभारम्भसमेत गर्नुभएको छ । वडा भौगोलिकमा ठूलो रहेको सेखुवाका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा इकाई स्थापना गरिएको हो ।

स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताउनुभयो । “भौगोलिक अवस्था कठिन छ भन्दैमा नागरिकले स्वास्थ्य सेवा पाउन कठिन हुनु हुँदैन । राज्यले सेवा त्यहाँ पु¥याउनुपर्छ, जहाँ नागरिकलाई सेवाको सबैभन्दा बढी आवश्यकता छ,” उहाँले भन्नुभयो, “सेखुवामा स्वास्थ्य इकाई स्थापना हुनु एउटा भवन थपिनु मात्र होइन । यहाँका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो ।”

गाउँको विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिले मात्र प्रयास गरेर नपुग्ने भन्नुहुँदै अध्यक्ष राईले नागरिकको सामूहिक सहभागिता र योगदान अपरिहार्य रहेको बताउनुभएको छ । “देश बनाउन भाषणले मात्र पुग्दैन, सबै नागरिक मिलेर काम गर्नुपर्छ। विकासको जिम्मेवारी सरकारको मात्र होइन, समाजका हरेक नागरिकको हो,” उहाँले भन्नुभयो, “हामीले जहाँबाट जे योगदान गर्न सक्छौँ, त्यहीँबाट सुरु गर्ने हो। कसैले श्रम दिन सक्छ, कसैले जग्गा दिन सक्छ, कसैले ज्ञान–सीप दिन सक्छ। यिनै साना–साना योगदान जोडिँदा गाउँको ठूलो विकास सम्भव हुन्छ ।”

विशेषगरी साविक वडा नम्बर १ र २ लगायत आसपासका नागरिकलाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाईबाट स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ । सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि अब स्थानीय नागरिकले टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष हेमन राईले बताउनुभएको छ ।

स्वास्थ्य सेवा इकाई स्थापनाका लागि जग्गा उपलब्ध गराउने अदमबहादुर राईको योगदानको गाउँपालिकाले उच्च सम्मान गरेको छ । जग्गादाता राईका छोरा दिलकुमार राईलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

विकास निर्माणमा राज्यको लगानीसँगै स्थानीय नागरिकको योगदान, सहकार्य र अपनत्वलाई संस्थागत गर्दै अघि बढ्ने गाउँपालिकाको नीति रहेको समेत उहाँले बताउनुभयो । सेखुवामा स्वास्थ्य इकाई सञ्चालनमा आएपछि वडा नम्बर १ को दुर्गम तथा छरिएका बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।

गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा लिँदै भौगोलिक अवस्था, जनसंख्या र सेवाको आवश्यकतालाई आधार बनाएर स्वास्थ्य संस्थाको पहुँच विस्तार गर्दै आएको जनाएको छ । सेखुवामा स्वास्थ्य इकाई स्थापना भएसँगै विकट भूगोलमा पनि ‘नागरिक भएको ठाउँमै सेवा’ पु¥याउने स्थानीय सरकारको प्रयासले थप गति पाएको छ ।