Tuesday, April 21

नेर्पा भुलभुले पुरुष फुटबल प्रतियोगिता–२०८१ : दोर्पा चिउरीडाँडाको विजयी यात्रा शुरु

खोटाङ, २२ माघ । नेर्पा स्पोर्टस् क्बलले नेर्पा खोटाङले आयोजना गरेको ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको छ । नेर्पास्थित नेर्पा स्पोर्टस् क्लब नेर्पाको आफ्नै खेलमैदान संसारीडाँडामा आज (मङ्गलबार) दिउँसो भएको उद्घाटन खेलमा साकेला गाउँपालिका–५ मात्तिमलाई एक गोलका विरुद्ध चार गोल गर्दै दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको हो ।

निर्धारित समयको पहिलो हाफमा पेनाल्टीमार्फत एक गोल गर्दै अग्रता लिएको दोर्पाले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’को विजेता दोर्पा चिउरीडाँडासँगको खेलमा मात्तिमले दोस्रो हाफपछि एक गोलमात्र फर्काएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित वडा कार्यालयसँगको सहकार्यमा आयोजित प्रतियोगितामा दोर्पा चिउरीडाँडाका जर्सी नं. १९ का खेलाडी सलिल ढकाल म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिताका म्यान अफ दि म्याच घोषित ढकालले नगद रु एक हजार ५०० को साथमा मेडल प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद रु दुई लाखको साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिनुभएको छ । उपविजेताले नगद रु एक लाखको साथमा ट्रफी र मेडल तथा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ४०÷४० हजारको साथमा मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु दश हजारको साथमा ट्रफी र मेडल तथा हाइस्कोररले नगद रु सात हजार नगदको ट्रफी र मेडल पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।

माघ–२६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न गाउँपालिकाका १२ वटा वडाका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोस्रो दिन (भोलि बुधबार) तीनवटा खेल सञ्चालन हुने आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका सचिव रणजङ राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । साँगीतिक कार्यक्रमसहित उद्घाटन प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ एन्फाका कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा र ४ बाक्सिला, साकेला गाउँपालिका–२ रतन्छा र ५ मात्तिम, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र ७ महादेवस्थान, आयोजक नेर्पा सेतो र निलो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, ३ बाम्राङ, ७ दोर्पा चिउरीडाँडा र ८ दोर्पा बुवालङ सहभागी छन् । तीन वर्षअघिदेखि लगातार हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको अघिल्लो सँस्करण दोर्पा चिउरीडाँडाले जितेको थियो ।