फागुन–१५, खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाई’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् ।
बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आउनुभएको छ । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बन्नुभएका ‘बाँस दाई’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्कनुभएको उहाँले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गर्नुभएको छ । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाउनुभयो ।

निरन्तर बाँसकै सीप गर्दै आए पनि आम्दानी भने गर्न नसेकेको पर्तेलले बताउनुभयो । पहिरो तथा सडकले थोरै जग्गा पनि सकिएको उहाँको भनाई छ । निम्न आर्थिक अवस्था भए पनि शौखकै रुपमा बाँसजन्य सामाग्री निर्माणमा जुटिरहेको भरिबहादुरले सुनाउनुभयो । बाँस दाई देशका बिभिन्न स्थानमा हुने बाँससँग सम्बन्धित हरेक कार्यक्रममा सहभागी बन्दै आउनुभएको छ ।

“जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १५ गते बिहिबारदेखि १७ गतेसम्म सञ्चालन हुनेगरी बाँस सम्मेलन उद्घाटन गरिएको छ । दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा संघीय बन वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाउँदै बाँस सम्मेलनको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा बाँसबाट निर्माण गरिने यलम्बर बाजालाई किरात समुदायले परम्परागत मौलिक बाजाको रुपमा लिने गरेको छ । बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी सम्मेलनको आयोजना गरिएका आयोजकले जनाएको छ ।
सम्मेलनमा संघीय मन्त्रीहरु, बिभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, गभर्नर महाप्रसाद अधिकारी, बिभिन्न बिश्वबिद्यालयका प्राध्यापक डाक्टरहरु, बन मन्त्रालयका बिशिष्ट कर्मचारीहरु लगायतको उपस्थिती रहेको छ । यस्तै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बाँस ब्यवसायी लगायत ब्यक्तित्वहरुको उपस्थिती रहेको मेयर तीर्थराज भट्टराईले बताउनुभएको छ ।
सम्मेलनमा आमन्त्रित तथा सहभागी बिशिष्ट पाहुनाहरुलाई होटल ब्यवसायी संघ खोटाङसँगको समन्वयमा आवासको प्रबन्ध मिलाइएको छ । जिल्लाबाहिरबाट बिज्ञहरुसहित करिब साढे तीन सयको हाराहारीमा सहभागी भएको नगरपालिकाले जनाएको छ । सम्मेलनमा जिल्ला बिहिरबाट २८ र जिल्लभित्रबाट ५२ बढी स्टल राखिएको छ ।
बाँसको संरक्षण, ब्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्दि गरी समृद्द स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य ध्यये रहेको छ । तीन दिने सम्मेलन अवधीमा बाँसजन्य सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि बितरणका साथै बिज्ञहरुबाट बिभिन्न कार्यपत्रहरु प्रस्तुत लगायतका कार्यक्रमहरुको तय गरिएको छ । सम्मेलनमा बाँससँग सम्बन्धित ४४ जना बिशिष्ट ब्यक्तिबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
सम्मेलनले तीन दिने सम्मेलनको मात्र अर्थ नराखी बाँससम्बन्धी राष्ट्रकै नीति निर्माण गर्ने सम्मेलनको बिशिष्ट अर्थ राख्ने नगरप्रमुख भट्टराईको भनाई छ । सम्मेलनबाट दिक्तेल घोषणापत्र सार्बजानिक गर्ने र सो घोषणापत्रकै आधारमा नेपालभर लागु हुने बाँस सम्बन्धी नीति तय हुने नगरप्रमुखले सुनाउनुभयो ।
सम्मेलनको क्रममा यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम राखिएको छ । बाँसको महत्व र उपयोगिता दर्शाउन तथा प्रबद्र्दन गर्न लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत बिभिन्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ४७ लाख रुपैंयाँ बराबरको खर्च हुने अनुमान गरिएको बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंयाँ मात्र बजेट बिनियोजन गरिएको छ । अन्य खर्चका लागि वाँस सम्बन्धी काम गर्ने निकायहरु, बिभिन्न मन्त्रालय, संघसंस्था लगायतबाट नगरपालिकाको खातामा आर्थिक सहयोग जुटेको उल्लेख छ । अनुमानित खर्चमा थप हुन सक्ने आँकलन नगरपालिकाको रहेको छ । ।
