खोटाङ, १६ फागुन । जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार नेपाल सरकार, सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको हो ।
दिक्तेलस्थित खाेटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु स्टलकाे रुपमा प्रदर्शनीमा राखिएको छ। सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायतगरी ५१ वटा स्टल राखिएकाे आयोजकले गरेको छ ।
यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङ लगायतको पनि व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । मन्त्री शाहीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरु, प्रदेशका मन्त्री र सांसदहरु, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि सङ्घ संस्थाका प्रमुखहरु, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरुकाे उपस्थिति छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनमा जिल्ला बाहिरबाट मात्र ३०० भन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति रहने बताइएको छ । बाँस सम्मेलनमा विज्ञहरुबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभएकाे छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएकाे सम्मेलनकाे आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएशन ललितपुर रहेका छन् । बाँसको प्रवर्द्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । प्रथम राष्ट्रिय बाँस सम्मेलनमा अनुमानित रु ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालकै इतिहासमा पहिलाे पटक दिक्तेल बजारमा आयाेजना गरिएकाे प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैर-सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएकाे छ । सम्मेलनकाे अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको गरिएको छ ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वटा वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्याधिक मात्रामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियाली लगायत १३ किसिमका बाँस पाइने गरेका छन् । बाँस सम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगकाे सहकार्यमा तीनवटै तहका सरकारकाे संयुक्त आयाेजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित भएका छन् ।
बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित शपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।
